Logo

आरोहण सिजन र १४ अग्ला हिमाल

अहिले हाम्रो देश नेपालमा वसन्त ऋतु सुरु भइसकेको छ । नेपालमा वसन्त ऋतु भनेको पर्वतारोहणको मुख्य सिजन पनि हो । विगतदेखिकै नेपालको पर्वतारोहणको इतिहास हेर्दाखेरि अरू ऋतुभन्दा वसन्त ऋतुमा नेपालमा रहेका हिमालहरू बढी नै मात्रामा आरोहण गर्ने प्रचलन रहेको देखिन्छ । त्यसमा पनि अझ सगरमाथा (चोमोलुङ्मा-एभरेस्ट), कञ्चनजंघा (सेवालुङ-सेन्छेलुङ), ल्होत्से (ल्होत्चे), मकालु (सेसेलुङ), धौलागिरि, आमाडाब्लाम, अन्नपूर्ण–प्रथम आदि हिमाल वसन्त ऋतुमा अन्य हिमालको तुलनामा बढी नै आरोहण गर्ने गरेको तथ्य–तथ्यांक रहेको छ ।

हुन त यो वर्ष कति देशका कति दल, कति जना पर्वतारोही हाम्रो देशमा रहेका विश्वकै सर्वोच्च हिमशिखर सगरमाथादेखि लिएर विश्वकै तेस्रो अग्लो कञ्चनजंघा, चौथो ल्होत्से, पाँचौं मकालु, छैटौं चोओ यु, सातौं धौलागिरि, आठौं मनास्लु, दसौं अन्नपूर्ण–१, कुम्भकर्ण (फक्ताङलुङ), हिमलुङ, बरुत्सेलगायतका हिमाल आरोहण गर्न आउने हुन् ? लगभग वैशाख अन्त्यसम्म नै पर्यटन विभागले अनुमतिपत्र जारी गर्ने हुनाले अहिले नै भन्न सकिने अवस्था छैन । तर, चीन सरकारले पनि यो वर्षको वसन्त ऋतुदेखि तिब्बततर्फबाट सगरमाथा आरोहण गर्न खुला गरेकाले नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने आरोहीहरूको दल र पर्वतारोहीहरूको संख्या पनि अलि कम नै हुन्छ कि ? हेरौं, के हुन्छ । सिजन सकिएपछि नै थाहा हुनेछ ।

जे भए तापनि हालसालै आएको समाचारअनुसार चैत्र तेस्रो हप्तासम्ममा २ सय ६६ जना पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहणका लागि भनी यो वर्षको वसन्त ऋतुमा अनुमति लिइसकेका छन् । त्यसमा विश्वको अग्लो हिमाल सगरमाथा आरोहणका लागि मात्रै ११ दलका १ सय ३० जनाले अनुमति लिएका छन् भने दोस्रोमा आमाडाब्लाम हिमाल रहेको छ । आमाडाब्लाम हिमाल आरोहणका लागि ४ दलका ३८ जना पर्वतारोहीले अनुमति लिएका छन् । आरोहणका लागि हाल विश्वमा विभिन्न देशका मान्यताप्राप्त ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेका छन् । तीमध्ये आठवटा (६० प्रतिशत) त हाम्रै देश नेपालमा रहेका छन् ।

हालसम्म जमिनको सतहबाट नाप्दा विश्वकै सबैभन्दा अग्लो हिमाल मानिएको सगरमाथा ८ हजार ८ सय ४८.८६ मिटर, विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा ८ हजार ५ सय ८६ मिटर, चौथो ल्होत्से ८ हजार ५ सय १६ मिटर, पाँचौं मकालु ८ हजार ४ सय ६३ मिटर, छैटौं चोओ यु ८ हजार २ सय १ मिटर, सातौं धौलागिरि ८ हजार १ सय ६७ मिटर, आठौं मनास्लु ८ हजार १ सय ६३ मिटर र विश्वकै १० औं अग्लो हिमाल अन्नपूर्ण–प्रथम ८ हजार ९१ मिटर नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालहरू हुन् । विश्वकै अग्ला १४ वटा हिमाल प्रथम पटक आरोहण गर्ने पर्वतारोहीहरू कुन–कुन देशका थिए र ती हिमाल कहाँ–कहाँ छन् त ?

विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङ्मा-एभरेस्ट सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक चढेका थिए । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु-काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलो पटक सफलतापूर्वक चढेका थिए ।

उता विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जीलिङको सीमामा रहेको छ । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलो पटक चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से-चेको प्रथम आरोहण सन् १९५६ मे १८ मा भएको थियो । स्विट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलो पटक यो हिमाल आरोहण गरेका थिए ।

त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गिकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक टोलीले चढेका थिए । विश्वको छैटौं अग्लो हिमाल चोओ यु सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर तथा नेपाली पासाङ दावा (लामा) शेर्पाले पहिलो पटक आरोहण गरेका थिए ।

त्यस्तै गरेर विश्वको सातौं अग्लो हिमाल धौलागिरि सन् १९६० को १३ मेमा स्विट्जरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै, विश्वको आठौं अग्लो हिमाल मनास्लुको पहिलो आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशिमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता र नेपाली पर्वतारोही ग्याल्जेन नोर्बुले गरेका थिए ।

विश्वको नवौं अग्लो हिमाल नांगा पर्वत हो । यो हिमाल पाकिस्तानमा रहेको छ । यसको उचाइ ८ हजार १ सय २६ मिटर छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३ जुलाई ३ मा यो हिमाल पहिलो पटक चढेका थिए । साथै, विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण–१ फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलो पटक सफलतापूर्वक आरोहण गरेका थिए । एवम् प्रकारले विश्वको ११ औं अग्लो हिमाल गासेरब्रुम–१ हो । यो हिमाल पाकिस्तान–चीन सीमामा रहेको छ । यसको उचाइ ८ हजार ८१ मिटर छ भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकी पर्वतारोहीद्वय एन्ड्र्यु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए ।

विश्वको १२ औं अग्लो हिमाल ब्रोड हो । यो हिमाल पाकिस्तानमा रहेको छ भने यसको उचाइ ८ हजार ५१ मिटर हो । यो हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो बेला अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३ औं अग्लो हिमाल गासेरब्रुम–२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने यसको उचाइ ८ हजार ३५ मिटर छ । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले यो हिमाल सफलतापूर्वक चढेका थिए ।

विश्वको १४ औं र ८ हजार मिटरमाथिको अन्तिम अग्लो हिमाल हो— सिसापाङ्मा । यो हिमालको उचाइ ८ हजार २७ मिटर छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सिमानामा रहेको छ । भूगोलका आधारमा यो हिमाल नेपाली भूमिमा पथ्र्यो भन्ने भनाइ सम्बन्धित विषयका जानकारहरूको छ । नेपाली (खस-पर्वते) भाषामा यसको नाम गोसाइँनाथ हो । तर, चीनले आफ्नो देशमा विश्वकै अग्लो हिमाल चोमोलुङ्मा (सगरमाथा) नपर्ने भएपछि ‘सिसापाङ्मा’ चीनमा पर्ने गरी राजनीतिक रूपमा सहमति गरेको मानिन्छ । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीको टोलीले आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्