Logo

सगरमाथा आरोहणबाट ५० करोडभन्दा बढी राजस्व संकलन

फाइल तस्बिर ।

काठमाडौं- सगरमाथा आरोण गर्नेहरुबाट रु ५० करोडभन्दा बढी राजस्व संकलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो ।

विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति पाएका छन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन् । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

उनीहरुबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ । गत वर्ष रु ७६ करोड रोयल्टी रकम जम्मा भएको थियो । यस वर्ष रु ५६ करोड रोयल्टी उठिसकेको छ । विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत् हालसम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रोयल्टी जम्मा भएको छ ।

यसमध्यै सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो । विभागको विवरणमा सगरमाथापटि ल्होत्से हिमालबाट रु एक करोड ७२ लाख ५८ हजार नौ सय २२ र मकालु हिमालबाट रु एक करोड ७७ लाख ४८ हजार रोयल्टी प्राप्त भएको छ । पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई रु ११ लाख दस्तुर लाग्छ ।

नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । वसन्त ऋतु आरोहणका लागि उपयुक्त याम मानिन्छ ।

यस याममा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट सर्वाधिक संख्यामा आरोही आउँछन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि आरोही हिमालतिर लागेका हुन् । यस यामको सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म बाटो खुलिसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्