Logo

दुई करोड ८२ लाखमा बन्ने विद्यालय भवनको शिलान्यास

काठमाडौं- भारत सरकारको रु दुई करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका-६ स्थित हिमालय माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । व्याँस गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

त्यसैगरी, ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोड ३७ लाखमा निर्माण गरिएको दुहूँ गाउँपालिकास्थित जनविकास माविको विद्यालय भवनको दुहूँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव सोनाले संयुक्त रुपमा उद्घाटन गरे । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगले व्याँस गाउँपालिकाको हिमालय माविलाई दुईतले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माण गरिनेछ ।

त्यसैगरी, दुहूँ गाउँपालिकास्थित जनविकास माविको भवन निर्माण गरिएको दूतावासले जनाएको छ । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो । हिमालय माविका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने जनविकास माविका परियोजना कार्यान्वयन दुहूँ गाउँपालिकामार्फत गरिनेछ । व्याँस गाउँपालिका र दुहूँ गाउँपालिकाका अध्यक्षले भारत सरकारको सहयोगको प्रशंसा गरेका छन् ।

दार्चुलास्थित हिमालय मावि र जनविकास माविमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुने उनीहरुले बताए । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

प्रतिक्रिया दिनुहोस्