Logo

पोखराको पुम्दी भुम्दीमा बुद्ध पार्क

पोखरा– पछिल्लो समय शान्ति स्तुपाः पछि विशाल महादेवको मूर्तिले धार्मिक सहित पर्यटक आकर्षण गरेको पोखरा २२ पुम्दी भुम्दीमा पुनः अर्को धार्मिक पर्यटकीय गन्तव्य निर्माण हुँदै गरेको छ । प्रायः गुरुङ समुदायको बस्ती रहेको रहेको कालाबाङ घरेडीको शिरको डाँडा अर्थात चक्र हाल्ने डाँडा हाल बुद्ध पार्कसहितको बृहत योजना निर्माण हुँदै गरेको हो ।

बुद्ध पार्क परियोजनाअन्र्तगत हाल स्वयम्भुनाथ (बुद्ध) को मूर्ति स्थापना गरिएको ठाउँमा अन्य कलात्मक सामग्री बनाउने काम धमाधम भइ रहेको पार्क निर्माण समितिका अध्यक्ष राज गुरुङले बताए । ५ करोडको परियोजनाअन्र्तगत पहिलो चरणमा बुद्ध मूर्तिसहितको बुद्ध पार्क, मुल गेट, सिँढीलगायतका काम भइरहेको उनले बनाए । पहिलो चरणमा बुद्धको मूर्ति विधिपूर्वक जडान गरिएको संयोजक गुरुङले बताए ।

धर्म गुरु कुण्डोल रिनपोक्षेद्वारा सहयोग प्राप्त भएको १५ फिट अग्लो शाक्यमुनिको बुद्ध मूर्ति उक्त स्थानमा प्रतिस्थापन गरिएको अध्यक्ष गुरुङले जनाए । करिब ८/९ वर्ष अघिको भेटमा बुद्ध मूर्ति राख्न सकिन्छ कि भन्ने धर्म गुरुसँग अध्यक्ष गुरुङले राखेको प्रस्तावमा उनले स्वीकार्दै मूर्तिसहित स्तुपाः तथा साना आकृतिका बुद्ध मूर्तिहरु समेत सबै धर्म गुरुले नै व्यवस्थापन गरेका छन् ।

साना आकृतिका मूर्ति र स्तुपाहरु हाल गाउँमै पुगिसकेका छन् । पोखराको फेवाताल र सिद्धार्थराज मार्ग जोडिएर पनि पछि परेको पुम्दी भुम्दीमा पछिल्लो ४/५ वर्षदेखि महादेवको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । त्यसैगरी बौद्ध धर्मका भक्तलाई आकर्षित गर्न पोखरा–२२ को नियाले डाँडामा बुद्ध पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

भारतको दहरादुनमा मूर्ति निर्माण गरी केही समय अघि नै बुद्ध पार्कमा प्रतिस्थापना गरिएको हो । फाइवरबाट निर्माण गरिएको १५ फिटको उचाइमा रहेको मूर्ति सिंगार्ने काम बाँकी रहेको संयोजक गुरुङले बताए । पहिलो चरणमा ५ करोडको परियोजना सफल पार्न पोखरा महानगरपालिका, पोखरा महानगरपालिका–२२ का स्थानीय र विदेशबाट समेत सहयोग जुड्दै गरेको उनले जनाए । उक्त बुद्ध पार्कमा १० फिटका दुई वटा मूर्ति, ८ वटा स्तुपासमेत निर्माण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्