Logo

१५ जोडीको सामूहिक विवाह

विराटनगर– विराटनगरमा १५ जोडी युवायुवतीको सामूहिक विवाह सम्पन्न भएको छ । माहेश्वरी महिला मञ्चको आयोजनामा स्थानीय अतिथि सदनमा आदिवासी समुदायका युवायुवतीको सामूहिक विवाह सम्पन्न भएको हो । बिहीबार दिउँसो बेहुला–बेहुलीको पोशाकमा सजिएका युवायुवतीका साथै तिनका आफन्त, जनप्रतिनिधि, सामाजिक अभियन्तालगायतको जमघट थियो ।

विपन्न तथा पिछडिएका समुदायको उत्थानको क्षेत्रमा काम गर्दै आएको माहेश्वरी महिला मञ्चले आयोजना गरेको सामूहिक विवाहमा सहभागिता जनाउनेहरूको उपस्थितिले अतिथि सदनको प्राङ्गण भरिभराउ थियो । सो ठाउँमा झापा र मोरङका १५ जोडीको विवाहका लागि बेग्लाबेग्लै मण्डप बनाइएको थियो भने विवाह सम्पन्न गराउन पुरोहित आमन्त्रण गरिएका थिए । विवाहमा सहभागी मोरङका बेहुला विजय मरण्डी र झापाकी बेहुली रेनुका सत्ताले सामूहिक विवाहमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

अभिभावकको आर्थिक अवस्था कमजोर हुनेका लागि सामूहिक विवाह उपयुक्त हुने बेहुली रेनुकाको भनाइ छ । ‘हामी जस्ता विपन्न समुदायका लागि यो विवाह अत्यन्तै उपयुक्त लाग्यो’ उनले भनिन्, ‘साँच्चै अविस्मरणीय र उदाहरणीय विवाह भएको छ ।’ विवाहस्थल नजिकै बरबधु पक्ष तथा आमन्त्रितका लागि भोजको समेत व्यवस्था गरिएको थियो । मण्डप नजिकै विवाह सम्पन्न भएपछि नवजोडीलाई घरजमका लागि प्रदान गरिने लुगाफाटा, भाँडाबर्तन, दराज, पलंगसहितका फर्निचर र खाद्यान्नलगायतका सामग्री राखिएको थियो ।

आयोजक समितिले एउटा विवाह र विवाहपछि घरजम गर्न आवश्यक पर्ने सबै सामानको जोहो गर्नुका साथै उत्सवको वातावरण निर्माण गरेर युवाजोडीको सामूहिक विवाह सम्पन्न गराएको छ । विवाहमा सहभागी बेहुलालाई लुगाफाटाका साथै बेहुलीलाई सुनको तिलहरी, नाक तथा कानको सुनकै गहना र चाँदीको पाउजुलगायत आवश्यक सबै सामान उपहार दिएको छ ।

त्यतिमात्र नभई १५ जनै बेहुलीको नाममा ५ वर्षपछि झिक्न मिल्नेगरी ११ हजार राशिको मुद्दति खातासमेत खोलिदिएको आयोजक माहेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् । उनले सामूहिक विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह भएको दाबी गरिन् । वर र वधु दुवै पक्षको सहमतिमा उनीहरूलाई विवाह कार्यक्रममा सहभागी गराइएको थियो ।

विवाह गर्ने सबै २० वर्ष उमेर पूरा गरिसकेका छन् । यसले तराई क्षेत्रमा बसोवास गर्ने आदिवासीहरूमा व्याप्त बालविवाह गर्ने प्रवृत्तिविरुद्धको जनमत तयार पार्न पनि महत्वपूर्ण सहयोग गर्ने आयोजकको विश्वास छ । विवाह गर्ने जोडीहरूले विवाहका लागि कुनै खर्च गर्नु परेन । सामूहिक विवाह गर्दा लाग्ने सबै खर्च माहेश्वरी महिला मञ्चले बोहोरेको थियो । विवाहमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहलगायतको पनि सहभागिता रहेको थियो ।

उपमेयर कार्कीले सामूहिक विवाहको अवधारणा प्रसंशनीय रहेको र यसबाट विपन्न समुदायका अभिभावकलाई ठूलो राहत मिलेको बताइन् । सामुहिक विवाह सम्पन्न गराउन आयोजक संस्थाका साथै समाजसेवीबाट स्वेच्छाले सहयोग संकलन गरिएको अध्यक्ष राठीले जानकारी दिइन् । विवाह सम्पन्न गर्न झण्डै २५ लाख रुपैयाँ खर्च भएको आयोजक समितिले जनाएको छ । ६ महिनाका तयारीपछि सामूहिक विवाह सम्पन्न गर्न सकेको राठीको भनाइ ।

प्रतिक्रिया दिनुहोस्