Logo

बिहादी गाउँपालिकाको बजेट विनियोजन

पर्वत– पर्वतको बिहादी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४६ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा प्रत्येक वडामा १२ लाख रुपैयाँका दरले र वडा नम्वर ५ मा सडक बोर्ड नेपालबाट सञ्चालित आयोजनाका लागि ९ लाख थप गरी थप ८१ लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाको १४औं गाउँसभा तथा हिउँदे अधिवेशनमा उपाध्याक्ष मिना शर्मा तिवारीले गरेको प्रस्ताव सभाले पारित गरेको छ ।

साथै उपाध्याक्ष तिवारीले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको राजस्व प्रगतिको अवस्थाको बारेमा जानकारी गराइन् । गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नीति तथा कार्यक्रमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन पेश गर्दै अध्यक्ष गुरुङले पूर्वाधार निर्माण, शिक्षा, खानेपानी, स्वास्थ्य र कृषिमा गाउँपालिकामा धेरै राम्रा कामको थालनी गरेको बताए । उनले आर्थिक विकासतर्फ प्रत्येक वडामा अर्गानिक कृषि खेती तथा मौसमी तरकारी खेतीको आवश्यक सहजिकरणका लागि कार्यविधि बनाई बिहादीका ९४ कृषकलाई हाइटेक टनेल वितरण कार्यक्रम संञलन गरेको बताए ।

त्यसैगरी तरकारी उपकरणमा अनुदान कार्यक्रम, ५० प्रतिशत अनुदानमा गहुँको बिउ खरिद गरि कृषकलाई वितरण गरेको, ७५ प्रतिशतमा मौरी घर खरिद कार्यक्रम, ५० प्रतिशत अनुदानमा मिनिटिलर, ५० प्रतिशत अनुदानमा कुटानी पिसानी मिल र भकारो सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा निरन्तरता दिएको बताए । उनले स्थानीय सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी, एक वडा एक पशु तथा कृषि प्राविधिक र एक वडा एक आपीएस कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको बताए ।

सामजिक विकासतर्फ बृहत निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य शिविर, वहाकीठाँटी स्वास्थ्य चौकीमा आँखा सेवा केन्द्र निर्माण, स्वास्थ बीमा नीति कार्यान्वयन, औषधिहरुको आपूर्ति बाह्रै महिना प्रसुती सेवा, विपन्न वर्गका नागरिकलाई स्वास्थ्य उपचारका लागि आवश्यक सहयोगको पनि घोषणा गरिएको छ । गाउँपालिकाले फ्राइडे फर फ्युचर विद्यालय कार्यक्रम साथै राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम, निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगका कक्षा सञ्चालन, विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुका साथै राजनीतिक दलका विद्यार्थी संगठनलाई विद्यालय समयमा विद्यालय भित्र संगठन विस्तार गर्न नदिने नीति लिएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नतिजामा कम्तीमा ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुपर्ने र नभएमा विषयगत शिक्षकको आन्तरिक सरुवा, क्याम्पस र प्राविधिक व्यनवसायिक क्याम्पसलाई अनुदान, वडा वडामा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । पूर्वाधार विकासतर्फ पालिकाका सबै घरपरिवारलाई आधारभूतस्तरको खानेपानी सेवा पुर्‍याउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै वडा नं. २, ३, ४ र ६ मा खानेपानी आयोजना मर्मत कार्यलाई तीव्रता दिएको छ ।

सिँचाइका लागि बर्राचौर, रानीपानी र वहाकीठाँटीमा डिप बोरिङको सम्भाव्यता अध्ययन गरिएको छ । नदिजन्य पदार्थको उत्खनन, संकलन र बिक्री कार्यलाई कानुनअनुसार व्यवस्थित गरिएको छ । गाउँपालिकाले जनताको चासो, गुनासो र अपेक्षालाई सम्बोधन गर्न जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले परिश्रमी कृषक, जेहनदार विद्यार्थी, जिम्मेवार शिक्षक, इमान्दार कर्मचारी, विशुद्ध जनसेवकलाई सम्मान गर्दै आएको छ ।

अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८०/०८१ मा चालु खर्च मध्येको ४२.०३ र पुँजीगत खर्चमध्ये २२.६८ प्रतिशत खर्च गरेको जानकारी दिए । आर्थिक सामाजिक विकास, सार्वजानिक सेवा प्रवाह, पूर्वाधार विकास, वातावरण संरक्षण र सुशासनका व्यवस्थापकीय माध्यमबाट सबल, सुन्दर र समुन्नत विहादीको निर्माण गर्नेलगायत पालिकालाई जनअपेक्षा अनुरुप विकासका चाहाना पुरा गर्न, स्थानीय सरकार र स्थानीयवासी बीचको सुमधुर सम्बन्ध कायम गर्ने आधुनिक प्रविधि र मौलिक पहिचानको सम्मिश्रणबाट समुन्नत बिहादी बनाउने दृढ संकल्पबाट अविचलित रहने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्