Logo

आलु महोत्सवमा चार करोडको कारोबार

पोखरा– १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवमा करिब चार करोड मूल्य बराबरको आर्थिक कारोबार भएको छ । पोखराको हेमजामा बुधबार सम्पन्न उक्त महोत्सव अवधिभर आलुलगायतका अन्य सामग्री गरी करिब चार करोड मूल्य बराबरको आर्थिक कारोबार भएको मूलआयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले बताए ।

महोत्सवमा करिब ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल तीन हजार ४४५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले बताए । चैत २५ गतेबाट सुरु भएको महोत्सवमा प्रतिकेजी ४० रुपैयाँमा आलु बिक्री गरिएको थियो । ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव भएको हो ।

हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमध्ये पाँच सय हेक्टरमा आलु खेती गरिंँदै आइएको छ । जसअन्तर्गत ५४० घरपरिवार किसान व्यावसायिक रूपमा आलुखेतीमा आबद्ध छन् । उक्त महोत्सवको अवसरमा पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गरिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको हो ।

कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्तासमेत रहेका पोखरा–२५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताए । आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै हेमजावासी खटेर महोत्सव सफल पारेकोमा प्रशंसा गरे । महोत्सवकै अवसरमा विष्णु पादुका क्लबको बहुउद्देश्यीय भवन शिलान्यास गर्नु खुशीको कुरा भएको उनले जनाए ।

कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँलगायत काठमाडौंबाट समेत आलु खरिद गर्न महोत्सवमा आएको क्लबले जनाएको छ । प्रतिघरपरिवार न्यूनत्तम पाँच किलोग्रामदेखि अधिकत्तम तीन सय किलोग्रामसम्म आलु खरिद गरी लगेका छन् । ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानिने भएकोले धेरेको रोजाइमा पर्ने गर्दछ । बुधबार महोत्सवमा विभिन्न कलाकारले प्रस्तुति राखेका थिए ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तरक्रिया, विभिन्न कृषिउपज, बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक तथा विज्ञ सम्मान एवम् पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्टलगायतका कार्यक्रम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्