Logo

पर्यटकले भरिभराउ बन्यो कुश्मा

पर्वत– शाहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही समययता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न संघ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुंगे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

नयाँ वर्ष प्रारम्भ र चैते दसैको बेला भएकाले दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । गर्मीयाम शुरु भएसँगै कालिगण्डकीमा जलयात्राको यामसमेत सुरु भएको छ । नयाँ वर्षमा पर्यटकको संख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् । एक साता अघिदेखि नै होटल बुकिङ हुन थालेको संचालकको भनाइ छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् ।

चैतदसैं तथा गार्मीयामको समयमा हिमालपारिको जिल्ला मुस्ताङको कागवेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको हो । मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल वन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौंडा, दोलखा, नेपालगन्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तु लगायतका क्षेत्रबाट शैक्षिक संघ संस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघ संस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढ्दो रहेको उनले बताए । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ समेत जाने गरेको होटल व्यवसायीको भनाइ छ ।

पछिल्ला केही दिनयता सदरमुकामका सुविधा सम्पन्न मानिने होटल वन्दना, बेन्जुु, रोयल कुश्मा, माउन्टेन भ्यू, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, ओरियन्ट, ड्रागन र गत कात्तिकदेखि कालिगण्डकी किनारमा खुलेको एडभाञ्चर रिसोर्ट तथा द क्लिफ रिसोर्ट लगायतका होटल भरिभराउ रहेको सञ्चालकले बताएका छन् । यता बञ्जिजम्प र जीपलाइनमा समेत एक हप्ता अघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकहरूले बताएका छन् ।

अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको दिनमा पर्यटकको चाप बढी हुने गरेको छ । यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए । पर्यटककै चहलपहल बढेकै अवस्थामा पर्वतको जलजलामा ३० करोड लगानीमा निर्माण गरिएको ज्ञान गौरी पार्टी प्यालेसले पनि शनिबारदेखि सेवा सुचारु गरेको छ ।

२३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पाँच तले ३९ वटा कोठा भएको होटलमा एकैदिन दुई सय जनासम्म पाहुना बस्न सक्ने सञ्चालक कृष्ण केसीले जानकारी दिए । आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी पार्किङको समस्या देखिएको छ । बजारका भित्रि सडक र पर्यटकीय पूर्वाधार नजिकै सवारी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको सवारी चालकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्