Logo

काठमाडौंमा मार्सी बिर्यानीको स्वाद चखाउँदै आँगन रिसोर्ट

जुम्ला– जुम्लाको रैथाने अन्नबालीको स्वाद चखाउन काठमाडौंमा रिसोर्ट सञ्चालन गरिएको छ । जुम्लामा उत्पादन हुने, मार्सी चामल, चिनो कागुनो, मकै, कोदो फापर, आलुलगायतको अर्गानिक बालीबाट बनेका परिकार खुवाउन काठमाडौंमा जुम्लाकै युवाले ‘आँगन क्याफे एण्ड रिसोर्ट तथा मार्सी बिर्यानी’ सञ्चालनमा ल्याएका हुन् ।

जुम्ला चन्दननाथ नगरपालिका १० निवासी एलपी देवकोटाले जुम्लाको रैथानेबालीको प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित काठमाडौंमा रिसोर्ट खोलेका छन् । अर्गानिक मार्सी बिर्यानीको परिकारलाई विशेष प्राथमिकता जुम्लाकै आलुको परिकार, मकै, कोदोको रोटी, फापरको रोटी, कागुनोको खिरलगायतका रैथानेबालीको स्वादिष्ट परिकार खुवाउने गरी रिसोर्ट सञ्चालन गरिएको सञ्चालक एलपी देवकोटाले बताए ।

जुम्लाको रैथानेबालीको बजार प्रवद्र्धन पनि हुने र उत्पादन वृद्धिमा किसान आकर्षित हुने अपेक्षा राखेको छु । उनले भने, ‘सिधै जुम्लाको उत्पादन काठमाडौंमा लिने र परिकार बनाई खुवाउने गरेका छौं । स्वाथ्यका लागि निकै लाभदायिक हुने रैथाने अन्नको परिकारमात्रै बनाउँछौं । जुम्लाकै झल्को दिने गरी अर्गानिक खाना खुवाउने हाम्रो उद्देश्य हो ।’ काठमाडौं–१० बुद्धनगरनजिक ५० लाख लगानीमा आँगन क्याफे एण्ड रिसोर्ट मार्सी बिर्यानी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

पाँच वर्षका लागि मासिक ३० हजारका दरले भाडा तिर्ने गरी जग्गा लिजमा लिएर सबै व्यस्थापन गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उल्लेख गरे । प्रेस युनियनका केन्द्रीय सचिवसमेत रहेका देवकोटाले बैंक तथा वित्तीय क्षेत्रमा ऋण गरेर रैथाने बालीको प्रवद्र्धनका लागि होटल सञ्चालन गरेको उल्लेख गरे । ६ जना युवाले रोजगारसमेत पाएका छन् भने आवश्यक खाद्यान्न सबै सिधै जुम्लाबाट मात्रै ढुवानी गरेर लिने गरिएको छ । हाम्रो विशेष परिकार भनेकै ‘मार्सी बिर्यानी’ हो ।

सञ्चालक देवकोटाले थपे, ‘घोडो मच्चोको चिया, च्याँग्राको सेकुवा, यार्सागुम्बा हालेको ब्राण्डी लगायतका अर्गानिक परिकारलाई जोड दिइरहेका छौं । व्यवस्थापनको काम अन्तिम चरणमा पुगेकाले उद्घाटनको तयारी हुँदैछ ।’ काठमाडौं, सुर्खेत, नेपालगन्जलगायतका सहरमा जुम्लाका युवाले सञ्चालन गरेका होटल व्यवसायले बजार अभावले थन्किएको रैथाने बाली बजार प्रवद्र्धनका लागि टेवा पुर्‍याएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले बताए । उनले व्यवसायलाई निरन्तरता दिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्