भेरी करिडोर तल्लु पुल निर्माण कार्य अन्तिम चरणमा

वीरेन्द्रनगर– भेरी करिडोर सडक आयोजना अन्तर्गत तल्लुस्थित भेरी नदीमाथिको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट रुकुम पश्चिमलाई जोडने महत्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । बेलिब्रिज पुल निर्माण गर्नका लागि आवश्यक पर्ने पाता सबै जडान भइरहेको करिडोरका प्रमुख सुनिल रन्जितकारले बताए ।
पुलको बेस प्लेट जडानको काम शुक्रबारदेखि सुरु हुने उनले जानकारी दिए । जेठ मसान्तभित्र पुल निर्माण गरिसक्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ । पुलका सबै पाता यत्ति बिल्डर्सले जडान गरेको छ भने बेस प्लेटदेखि ढलान, पालको काम बुद्धिबहादुर खत्रीले गर्ने सहमतिअनुसार काम भइरहेको उनले बताए । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बीचमा रहेको भेरी नदीमा लामो समयदेखि अलपत्र परेको पुल नयाँ कार्यालय प्रमुख आएसँगै निर्माणमा तीव्रता दिइएको छ ।
बेलिब्रिजको लागत तीन करोड ८१ लाख रहेको छ । बेलिब्रिज बनाउनका लागि हिम सगरमाथा–खड्का कृष्ण जेभीले २०७८ पुसमा निर्माणको जिम्मा लिएको थियो । एक वर्षभित्र निर्माणकार्य सक्ने भन्दै निर्माण कार्य सुरु गरिएको उक्त पुल अहिलेसम्म पूरा हुन सकेको छैन । आयोजनाको कार्यालय प्रमुख बदलिरहने तर निर्माण व्यवसायीलाई निर्माणको काममा ताकेता नगर्दा पुल निर्माण अलपत्र पर्दै आएको थियो ।
हालका प्रमुख रन्जितकारले आफू फिल्डमै खटिएर पुल निर्माणको कामलाई तीव्रता दिन दबाब दिएपछि अहिले पुलको काम ९० प्रतिशत पूरा भएको छ । तीन जिल्लाको लाइफलाइन मात्र नभइ भारत, नेपाल र चीन जोडने त्रिदेशीय सडकको महत्वपूर्ण हिस्सासमेत रहेको छ । ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्डभित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ठेक्का लिने तर काम नगर्ने क्याराभानलाई समेत तत्काल काममा फर्कन दबाब दिइएको कार्यालय प्रमुख रन्जितकारले बताए ।
अहिले चालू अवस्थामा रहेका ५६ किलोमिटरमा भारी मात्रामा कामको गति बढेको छ भने बाँकी ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ । यो पुल निर्माणपछि जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट निर्माणमा समेत सहजता हुनेछ । जसरी पनि जेठ मसान्तभित्र डोल्पामा बेलिब्रिज पुलमार्फत सिधा यातायात सेवा सुचारु गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।