Logo

पर्यटन पर्खिंदै नृसिंह धाम क्षेत्र

काठमाडौँबाट करिब १ सय २० किमि उत्तरपश्चिम धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारमा बूढीगण्डकी र नेत्रावती नदीको संगममा श्री नृसिंहधाम अवस्थित छ । यस पवित्र भूमिमा भक्तशिरोमणि प्रह्लादले तप गरी भगवान् श्री नृसिंहदेवले दर्शन दिनुभएको किंवदन्ती पाइन्छ । सल्यानटार आफैँमा पनि ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक रूपमा महत्त्वपूर्ण स्थान हो । पुरातत्त्वविद्ले खोज–अनुसन्धान गर्दा पनि यस स्थानमा लिच्छविकालीन बस्ती रहेको देखिन्छ ।

त्यसकारण यो स्थान ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ । वैदिक सनातन शास्त्रमा भगवान् नरसिंहदेवका विभिन्न १२ वटा प्राकट्य स्थल र विभिन्न १२ वटा नरसिंह पीठमध्ये यो स्थानलाई पनि एकपीठको रूपमा वर्णन गरिएको छ । शास्त्रीय हिसाबले यी दुई नदी नेत्रावती र बूढीगण्डकीलाई यशोधारा, विश्वधारा वा नारसिंही, ब्राह्मी भनेर स्कन्दपुराण र पद्यपुराणमा व्याख्या गरेको छ । गण्डकीको सातै धाराको बेग्लाबेग्लै नाम छः सुन धर्मधारा, यशोधारा, विश्वधारा, शीतप्रभा, रत्नधारा, सुवर्णाभा र कृष्णाभा । महेश्वरी, ब्राह्मी, नारसिंही, वैष्णवी, कौमारी, कालिका र गङ्गा यी क्रमैले भएका गण्डकी हुन् ।

अत्यन्त पुण्यदायक ती नदीहरूको परस्पर संगममा स्नान गर्नाले करोडौँ गुणा फल प्राप्त हुन्छ । श्वेतवराह कल्पमा भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहदेवले जुन नदीबाट प्रकट भएर दर्शन दिनुभयो, त्यो नदीको नाम नारसिंही भनेर रहन गयो । उक्त नदी नै वृद्धार गंगा नाम हुँदै अहिले बूढीगण्डकी नामले चिनिन्छ । नेत्रावती नदी, भगवान् शिवजीको आँखाबाट बगेको हो भन्ने जनविश्वास छ । बूढीगण्डकी सप्तऋषिका आश्रमबाट प्रवाहित गंगाका अनेक धारामध्ये एक हो । नेत्रावती भगवान् शिवद्वारा उत्तरतर्फ यात्रा गर्नुभएको बखतमा नेत्रबाट बगेको आँसुबाट उद्भव भएको किंवदन्ती छ ।

यी दुई नदीको संगममा स्नान तथा श्राद्ध गर्नाले पितृहरूको मोक्ष हुने साथै कर्ताको पनि जीवन सफल हुन्छ भन्ने आस्था रहेको छ । समग्रमा श्रीनृसिंह धाम क्षेत्रलाई हरिहर क्षेत्र पनि भन्न सकिन्छ । नेत्रावतीको रूपमा प्रवाहित उमापति भगवान् श्रीसदा शंकर अनि गण्डकी स्वरूपमा कमलनयन श्रीपति भगवान् श्रीहरिको मिलन स्थल हो, नृसिंहधाम क्षेत्र । पूर्वकल्पमा नृसिंहदेवले लीला गरेको विभिन्न स्थान जस्तै ः फटिक खम्बा सल्यानटारको शिर, होलिका दहन गरेको स्थान अगिन्चोक, भगवान्ले हात पखालेको स्थान हेपिंगे खोलालगायत अनेक भगवान् श्रीनृसिंहदेवसँग सम्बन्धित क्षेत्रहरू दर्शन गर्नाले पुण्य प्राप्त हुन्छ ।

यशोधारा र विश्वधारा नदीको संगम स्थललाई प्राचीन कालदेखि नै भगवान् श्री नरसिंहदेवको क्रीडास्थलका रूपमा लिइन्छ । हाल बूढीगण्डकी र आँखु खोला नामले चिनिने यी दुई नदीको संगम गोरखा र धादिङ जिल्लाको सिमानाअन्तर्गत धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १, सल्यानटारमा अवस्थित धाम केही दशकअगाडि शास्त्रीय प्रमाण, जनश्रुति र यस स्थानमा उपलब्ध भग्नावशेषका आधारमा स्थापना भएको मन्दिर २०७२ सालको भूकम्पले क्षतिग्रस्त भयो । त्यसपछि विभिन्न सन्तमहन्त र स्थानीय बासिन्दा तथा मन्दिर संरक्षण विकास समितिको सहभागितामा यस क्षेत्रलाई स्तरोन्नति गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले अगाडि बढेको पाइन्छ ।

पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक छ ।

हाल यहाँ मन्दिरका अतिरिक्त गुरुकुल भवन, छात्रावास, अतिथि निवास, सन्त आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचनासमेत निर्माण भएको छ । प्रत्येक महिनाको शुक्ल चतुर्दशी र कृष्ण चतुर्दशीका दिन विशेष अभिषेक, नृसिंह यज्ञको आयोजना हुने गर्छ । उक्त चतुर्दशी तिथिमा समस्त विघ्नबाधा हटाई मनोकामना पूर्ति गर्ने हेतुले भक्तहरू सर्वविघ्न विनाशक श्रीनृसिंह यज्ञमा सहभागी हुने र भगवान्को अभिषेक दर्शन गर्न भीड लाग्न गर्छ । प्रत्येक वर्ष वैशाख शुक्ल चतुर्दशी तथा पुरुषोत्तम महिनाभर पूरै महिना विशेष यज्ञ, अभिषेक, भगवत् कथा, भजन–कीर्तन, नृसिंह भगवान्सँग सम्बन्धित विविध झाँकी, नाटक र तृत्यको प्रदर्शन आदि कार्यक्रम हुने गर्छ ।

हाल यस क्षेत्रमा दैनिक सयौँ भक्तजन जाने गर्छन् । जसका कारण यस क्षेत्रमा धार्मिक पर्यटन विकास गर्ने सम्भावना प्रचुर मात्रामा रहेको पाइन्छ । विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ ।

यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ । आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ ।

विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गरेको अवस्था देखिन्छ । देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ ।

नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ । तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक–सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ ।

नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ । जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ । यस क्षेत्रको उचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धनको अभावमा अपेक्षित सफलता प्राप्त गर्न सकिएको छैन । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको भनाइका आधारमा नृसिंहधाम क्षेत्रले पर्यटन विकासको अवधारणालाई कसरी आत्मसात् गर्नुपर्ने हो, निक्र्योल हुनुपर्ने देखिन्छ ।

यसका लागि योजनाबद्ध दिगो पर्यटन विकास कार्यक्रममार्फत मात्र सफलता हासिल गर्न सकिने गुन्जाइस रहेकाले त्यस्तो दीर्घकालीन योजना पनि सम्बन्धित क्षेत्रका विज्ञको सुझावका आधारमा कार्यान्वयन गर्नु आवश्यक हुन सक्छ । नेपालको बागमती प्रदेशमा अवस्थित धादिङ जिल्लाको नृसिंहधाम क्षेत्र भू–बनोट, प्राकृतिक सुन्दर र ऐतिहासिक, सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय रहेको छ । यो क्षेत्र मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवं जैविक विविधतासहित विभिन्न प्रजातिका जिव जन्तु र वनस्पतिले भरिपूर्ण छ ।

मनोरम सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका संगम स्थल हो । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण यस क्षेत्रले आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा पर्यटकको आगमन वृद्धि हुन सक्नेछ । धार्मिक पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र सम्वर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा–सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । नृसिंहधाम क्षेत्रमा पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थल यत्रतत्र छरिएर रहेका छन् र त्यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था छैन ।

यो व्यवस्था कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले नृसिंहधाम क्षेत्रका लागि प्रभावकारी रूपमा पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । यस क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ ।

पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक छ । त्यस्तै सो क्षेत्रको विकासका लागि खानेपानीको पर्याप्त उपलब्धता, बाटोघाटोको आवश्यक व्यवस्था, ट्रेकिङ रुटको सम्भाव्यता अध्ययन, प्रभावकारी होटेल तथा होमस्टेको स्थापना, पुरातात्त्विक अन्वेषण र संरक्षण, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापना, जनचेतना अभिवृद्धि गर्दै नमुना पर्यटन क्षेत्रको रूपमा विकास गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्