Logo

पारिजात स्मृति सम्मान महेश मास्केलाई

हेटौंडा– साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम् स्वास्थ्य सेवी डा. महेश मास्केलाई प्रदान गरिएको छ । साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको सहकार्यमा प्रदान गर्दै आएको १५ हजार ५५५ रुपैयाँ राशीको सम्मान यस वर्ष डा. मास्केलाई प्रदान गरिएको हो ।

३१औं पारिजात स्मृति दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, सङ्गमका अध्यक्ष डिबी वर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले मास्केलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्षसमेत रहेका मास्केले पारिजातको व्यक्तित्व र कृतित्वको प्रवर्द्धनका साथै नेपाली साहित्य र स्वास्थ्य क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान प्रदान गरिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशकसमेत भइसकेका डा. मास्के चीनका लागि नेपालका पूर्वराजदूतसमेत हुन् । स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न निकायमा बसेर भूमिका निर्वाह गरेका मास्केले साहित्य क्षेत्रमा पनि उत्तिकै काम गर्दै आएका छन् । उनले २०४१ सालमै ‘भोकका कैदीहरुसँग’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए ।

साहित्य सङ्गम र आदर्श टोल विकास संस्थाले पारिजात स्मृति दिवसको अवसरमा हरेक २ वर्षमा एक विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसअघि २०७८ सालमा सिर्जना शर्मालाई सम्मान गरिएको थियो । यसपटकको पारिजात स्मृति सम्मान ग्रहण गर्दै डा. मास्केले आफूले सम्मानबापत प्राप्त गरेको नगद १५ हजार ५५५ रुपैयाँमा त्यति नै रकम थपेर साहित्य सङ्गमले निर्माण गर्दै गरेको अक्षयकोषमा सहयोग प्रदान गरे ।

साहित्यको उन्नयनमा लागेको संस्थालाई थप मजबुत बनाउन आफूले पाएको सम्मानमा रकम थप गरी सहयोग गरेको मास्केले बताए । पारिजात स्मृति दिवसको अवसरमा बुधबार बिहान साहित्यकारहरुले हेटौंडा–१० बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यापर्ण गरेका थिए । माल्यार्पणपछिको कार्यक्रममा साहित्यकार शान्तिप्रिय वन्दनाले पारिजातले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेकी थिइन् ।

कार्यक्रममा भवानी तिमल्सिना र रजनी पौडेलले पारिजातका कविता वाचन गरेका थिए । कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्