नगरसभामा बजेट रकमान्तर गर्न प्रस्ताव

हेटौंडा उपमहानरगरपालिकाको दोस्रो नगरसभा आइतबारबाट सुरु भएको छ । सभामा मस्यौदा विधेयक र संशोधित बजेटमाथि छलफल छलफल थालिएको छ ।
सभामा नगर उपप्रमुख मीना लामाले कुल ७ करोड ५७ लाख ५ हजार रुपैयाँ रकमान्तरका लागि प्रस्ताव गरेकी छन् । पहिलो नगरसभाबाट स्वीकृत विनियोजन ऐन २०७४ मा उल्लेख भएअनुसारका केही शीर्षकमा विनियोजित बजेट अपुग भएको र केही खर्च शीर्षकमा विनियोजन भएको सबै रकम खर्च हुने अवस्था नरहेको भन्दै दोस्रो नगरसभाबाट विभिन्न शीर्षकमा रकमान्तरको प्रस्ताव गरिएको हो । पहिलो नगरसभाबाट स्वीकृततर्फका ४५ वटा योजनाको रकम सोही वडा समितिको सिफारिसअनुसार अन्य नयाँ योजनामा एक करोड ५९ लाख ५५ हजार रुपैयाँ रकमान्तरको लागि प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक तथा सामाजिक विकासतर्फका १० वटा योजना तथा कार्यक्रममा ९१ लाख ५० हजार रुपैयाँ सोही योजनाअन्तर्गतका योजनामा रकमान्तरका लागि तयारी गरिएको छ ।
सुशासन प्रवद्र्धनतर्फ स्वीकृत २७ लाख बजेटलाई सोही रकममा ननाघ्ने गरी आन्तरिक रकमान्तर मिलाउन नगरसभामा प्रस्तुत गरिएको छ । नगरस्तरीय क्षेत्रगततर्फका ११ योजना तथा कार्यक्रममा विनियोजित बजेट ११ करोड ७ लाख ६९ हजार ५ सय रुपैयाँलाई आन्तरिक थपघट गरी बचत हुने करिब ४ करोड ७९ लाख रकम १८ वटा नयाँ योजनामा रकमान्तरको प्रस्ताव गरिएको छ ।
कार्यपालिका बैठकबाट गठित कानुन मस्यौदा समितिबाट विभिन्न ५ वटा विधेयक सभामा पेस भएको छ । नगरसभामा सहकारी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, न्यायिक समिति कार्यविधि विधेयक, शिक्षा विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक नगरसभामा प्रस्तुत गरिएको छ ।
राजधानी सर्दैन
मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी सार्ने मुद्दामा नअल्झिन आग्रह गर्दै कुनै पनि हालतमा हेटौंडाभन्दा बाहिर राजधानी नसर्ने जिकिर गरेका छन् ।
नगरसभामा उनले राजधानी सार्ने विषयमा कसैले औपचारिक प्रस्ताव नगरेको भन्दै कसैको व्यक्तिगत भनाइमा नअल्झिनसमेत आग्रह गरे । “राजधानी सार्ने पनि एउटा विधि र प्रक्रिया हुन्छ, कसैले राजधानी सर्छ भनेर हल्ला गरेकै भरमा राजधानी सर्ने होइन, अहिले यो विषयमा अल्झिरहनु आवश्यक छैन,” पौडेलले भने । काठमाडौं उपत्यकाभित्र प्रदेश राजधानी उपयुक्त नभएकोसमेत पौडेलको भनाइ छ । “उपत्यकामा अहिलेको सवारी तथा मानवीय चापका कारण अस्तव्यस्त छ त्यहीँमाथि प्रदेश राजधानी पनि लगेर राख्नु मूर्खता हो, सबै हिसाबले हेटौंडा नै प्रदेशको राजधानी उपयुक्त छ,” उनले भने ।
उनले मकवानपुरमा ठूलो लगानी गरेर विकासका पूर्वाधारहरु निर्माण भइरहेको बताउँदै पौडेलले हेटौंडाको विकासमा आफू प्रतिबद्ध रहेको समेत बताए । प्रदेश राजधानीसँग मुख्यमन्त्री साटेको भन्ने हल्ला आएको भन्दै पौडेलले त्यस्ता अफवाहको पछि नलाग्नसमेत आग्रह गरे । “मलाई मुख्यमन्त्री दिनुस्, प्रदेश राजधानी अन्तै लैजानुस् भनेर मैले कसरी भन्न सक्छु ? त्यसो भन्दैमा मैले मुख्यमन्त्री पाइहाल्ने अवस्था थियो र ?” पौडेलले प्रश्न गरे, “म हेटौंडाको स्थानीय भएको नाताले पनि मेरो हेटौंडाप्रति ठूलो जिम्मेवारी छ ।”