Logo

लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं– लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो ।

संस्थाका अध्यक्ष सिए सुजनकुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ । सम्मेलनमा एक हजार भन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।

सम्मेलनमा लेखा व्यवसायकोे सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइएफएसी) का अध्यक्ष आस्मा रेसमौकीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर सिए. युद्धराज ओलीका अनुसार लेखा व्यवसायकोे सर्वोच्च निकायका प्रमुखको सहभागिता हुनु नेपालका लागि महत्वपूर्ण विषय हो ।

नेपालले लेखा व्यवसायमा भित्राएको अन्तर्राष्ट्रिय अभ्यास सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको उनले बताए । ‘यो सम्मेलनलाई हामी लेखा व्यवसायीहरुको मेला मान्छौं,’ उनले भने । सम्मेलनको पहिलो दिन उद्घाटन सत्रबाहेक तीन वटा छलफल सत्र हुनेछ ।

त्यस्तै दोस्रो तथा अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दीगा व्यावसायिक रणनीति, सहकार्य सहितको नियमन, व्यावसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ । आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए । सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १२ सय जनाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्