Logo

अलपत्र हुलाकी सडकप्रति कांग्रेस महामन्त्री थापाको चासो

महेनद्रनगर- मेची महाकाली संवाद यात्रामा निस्केका कांग्रेस महामन्त्री गगन थापाले कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेर अलपत्र भएको हुलाकी सडक खण्डबारे आफ्नो प्रतिवेनमा समेटेका छन् । महामन्त्री थापाले माघ १३ गतेबाट थालेको संवाद अभियानका क्रममा मंगलबार साँझ बेलडाँडी पुगेका थिए ।

बेलडाँडी पुगेका थापाले अलपत्र रहेको हुलाकी सडक निर्माणका लागि ताकेता गर्नेसमेत बताए । उक्त सडक निर्माणको जिम्मा नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहेका भीम साउदको कम्पनीले पाएको छ । ३० महिनामा सक्नुपर्ने काम ७० महिना बितिसक्दासमेत ६२ किलोमिटर सडक सम्पन्न नहुँदा स्थानीय आक्रोशित भएका छन् । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनामा सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो ।

पहिलो पटकको म्याद सकिएर चौथो पटकसमेत म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन । त्यसैगरी २०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाबीच ३० महिनाभित्रै सडक कालोपत्रे सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थप्दासमेत निर्माण कम्पनीले काम सकेका छैनन् ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले चार पटक म्याद थप गरेर पनि दुवै कम्पनीले सडक निर्माण पुरा नगरेको बताए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिइएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंससिद्धिकीले पाएका थिए । निर्माण कम्पनीले सम्झौता गरेको ७० महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रिंदै गएको छ ।

निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयरसमेत भत्किन थालेको छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेको छ । पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ भने डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्र राजमार्गसम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक हिउँदमा धुलाम्मे र वर्षा याममा हिलाम्मे हुने गरेको छ ।

बाबाहंससिद्धिकीका सञ्चालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाइ भएको बताउँदै आएका छन् । भारतीय पक्षले उक्त क्षेत्रको १२ सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरको काममा पनि ढिलासुस्ती हुँदै आएको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि एक अर्ब, १७ करोडको लागतमा ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी समेत भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्