आम्दानीको स्रोत बन्दै अल्लो

अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादनसम्बन्धी सीप सिकेपछि महिलाले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
दाङ– पछिल्लो समय महिलाले अल्लोबाट राम्रो आम्दानी गर्दै आएका छन् । वन जंगल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको हो । अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादनसम्बन्धी सीप सिकेपछि महिलाले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
अल्लो धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्दै आएकी छिन् घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी दिलकुमारी पुन । उनले विगत १८ वर्षदेखि अल्लो धागो तथा कपडा उत्पादनमा संलग्न पुनले विगत सात वर्षदेखि घोराहीमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यावसायिक रूपमा अल्लो धागो तथा कपडा उत्पादनको काम गर्दै आएकी छिन् । विसं २०५७ मा रुकुमबाट दाङ झरेकी पुनले २०६२/०६३ सालदेखि अल्लो धागोसम्बन्धी काम गर्दै आएकी छिन् ।
धागो तथा कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ ल्याउन समस्यासँगै व्यावहारिक रूपमा अघि बढ्ने गरी २०७३ मा अल्लो विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यावसायिक उत्पादनमा लागेकी हुन् । पुनले अहिले वार्षिक करिब २५/३० लाखसम्मको कारोबार गर्दै आएको बताउँछिन् । कच्चा पदार्थ प्रशोधनसँगै धागो तथा कपडा उत्पादनको काम गर्दै आएको बताउँछिन् । उनले उद्योगमा आफूजस्ता ३० देखि ३५ जना महिलालाई रोजगारीसमेत प्रदान गरेकी छन् ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कच्चा पदार्थ ल्याउने र घोराहीमा प्रशोधन गरेर धागो तथा कपडा उत्पादन गरेर बिक्री गर्दै आएको उनी बताउँछिन् । ‘जिल्ला बाहिरबाट कच्चा पदार्थ ल्याउने र यहाँ प्रशोधन गरेर धागोसँगै कपडा उत्पादन गरेर बिक्री गर्दै आएका छौं । जसबाट राम्रो आम्दानी भइरहेको छ ।’ उद्योगका लागि आवश्यक कच्चा पदार्थ कर्णाली तथा सुदूरपश्चिमका अछाम, कालिकोट, दार्चुलालगायतका जिल्लाबाट ल्याउने गरेको उनको भनाइ छ ।
उनका अनुसार उद्योगबाट महिला तथा पुरुषका लागि आवश्यक पर्ने तयारी पोसाकअन्तर्गत कोट, झोला, टोपी, पछ्यौरी, जुत्ता, पर्स, लुङ्गीलगायत विभिन्न सामग्री बनाउने गरेको उनले बताइन् । यसरी उत्पादन गरिएका कपडा तथा प्रशोधित धागो जिल्लासँगै काठमाडौं, पोखरा, हेटौंडालगायतका बजारमा बिक्री गर्दै आएको अर्की उद्योग सञ्चालिका मनमाया पुनको भनाइ छ । ‘यहाँको उत्पादन जिल्लाबाहिर नै बढी बिक्री हुन्छन् । विशेषगरी विदेशीले मन पराउने भएका कारण काठमाडौं नै पठाउने गरेका छौँ,’ उनले भनिन् ।
यसरी काम गर्दा राम्रो बिक्री सिजनमा ५/६ लाख कमाइ हुने गरेको उनको भनाइ छ । जिल्लामा उद्योगबाट पनि बिक्ने गरेको भन्दै सिजनको समयमा मेला महोत्सवमा पनि बिक्रीका लागि जाने गरेको उनको भनाइ छ । अल्लो धागो प्रशोधनसँगै उत्पादनमा धेरै मेहनत लाग्ने गरे पनि आम्दानी पनि हुने गरेका कारण आफूहरू सन्तुष्ट रहेको उनी बताउँछिन् ।
‘परम्परागत रूपमा अल्लो प्रशोधन गरेर धागो उत्पादन गर्ने र त्यसबाट काँचो कपडा बनाउनका लागि धेरै मेहनत लाग्छ । जसले गर्दा कमै महिलाले निरन्तर काम गर्ने गर्छन्,’ उनले भनिन् । उनका अनुसार अल्लोको धागो तथा कपडा उत्पादनका लागि बाहिरबाट आएको कच्चा पदार्थलाई पकाउनेदेखि पानीमा धुने, कमेरो माटो लगाउने, घाममा सुकाउने लगायतका काम महिला आफैंले गर्ने गरेका छन् । यो सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गरेको उनी बताउँछिन् ।