Logo

रोहिणी खोलाबगरमा आयल निगमको भण्डारण केन्द्र निर्माण सुरु

भैरहवा– अन्ततः नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोलाको बगरमा बुधबारबाट इन्धन भण्डारणस्थल निर्माणको प्रकृया अघि बढाएको छ । जग्गा खरिदमा चलखेल भएको भन्दै राष्ट्रिय मुद्दा बनेको र संसदीय छानबिनसमेत बनेको रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको सिमानामा रहेको रोहीणी खोला बगरमा निगमले विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको हो ।

निगमले प्रथम चरणमा नदी छेउमा तटबन्ध निर्माण र भूमि सम्याउने काम सुरु गरेको छ । हामीले तीन महिनाभित्र तटबन्ध निर्माण, तारजाली लगाउने र निर्माणस्थलको जमिन सम्याउने कार्य सम्पन्न गर्ने गरी काम सुरु गरेका छौं, असारभित्रै यो काम सम्पन्न गरी २०८१ मंसिरभित्रै मुख्य काम इन्धन भण्डारणस्थलको निर्माण सुरु गर्नेछौं,’ इन्धन भण्डारण केन्द्र आयोजनाका प्रमुख प्रदीप यादवले भने ।

‘बुधबारबाट काम सुरु भयो, रुपन्देहीको भलवारीमा रहेको इन्धन डिपो बजार क्षेत्रमा रहेकोले बम फैक्ट्रीजस्तै रहेको छ, त्यहाँ जोखिम र मानवीय क्षतिको सम्भावना अधिक रहेको र अहिले इन्धन खपत पनि बढिरहेकाले बढी क्षमताका इन्धन भण्डारणस्थलको अति नै आवश्यकता देखिएकोले हाम्रै जग्गामा निर्माण सुरु भएको हो,’ यादवले भने, ‘अब जग्गाको विवाद केही छैन, संसदीय समिति र अख्तियारले क्लिन चिट दिइसकेको छ, निर्माणका लागि बजेट विनियोजन भएको छ,’ अब सबै मिलेर निर्माण सम्पन्न गर्नुपर्छ, तटबन्ध निर्माण, तारजाली लगाउने र जमिन सम्याउने कार्य उद्घाटन गर्दै उनले भने ।

यहाँको निर्माण कार्यमा स्थानीय तहको सल्लाह लिइन्छ, निर्माणमा उपलब्ध हुने रोजगारमा पहिलो प्राथमिकता पनि स्थानीयलाई दिइने र निर्माणमा प्रयोग हुने ट्रक, टैक्टर, टिप्पर, साथै जेसिभि मेसिनसमेत स्थानीयको भए उनीहरूकै भाडामा लिन पहिलो प्राथमिकता हुने उनले जनाए । यस क्षेत्रमा फर्टीलाइजर प्लान्ट सञ्चालन र ग्यास पाइपलाइन ल्याउने योजनाको अध्ययनसमेत भइरहेको उनले बताए ।

संयुक्त रूपमा उदघाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित यादवले इन्धन भण्डारण क्षेत्र रोहिणी सभ्यता क्षेत्र भएको र त्यहाँनजिकै प्राचीन सम्पदा मठ मन्दिरसमेत भएकाले ती सम्पदामा क्षति पुग्ने गरी संरचना निर्माण नगर्न आग्रह गरे । इन्धन भण्डारण क्षेत्र निर्माणमा आफूहरूले सहयोग गर्ने तर स्थानीय तह, यहाँका स्थानीय जनता र स्थानीय प्राचीन सम्पदालाई नोक्सान हुने गरी निर्माण नगर्न उनीहरूले सुझाव दिए ।

नेपाल पेट्रोलियम डिलर्स एसोसियसन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले भलवारी डिपो सानोे पनि भएको र अहिले इन्धनको उपभोगसमेत बढिरहेको बताउँदै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे । ‘कताकता सुनिन आएको छ, नबन्ने हल्ला छ, देखाउनका लागि मात्रै अहिले काम सुरु भएको छ, त्यस्तो नहोस्, निर्माण पूर्ण होस्,’ न्यौपानेले भने, ‘अहिले आयल निगम उपभोक्तमैत्री बनेको छ, आधुनिकीकरणसँगै उच्च पूर्वाधार निर्माण जरुरी छ, पाइपलाइनसमेत बनोस्,’ उनले भने ।

पश्चिमाञ्चल ट्यान्कर डिलर्स एसोसियसनका अध्यक्ष राकेश कशौधन, मजदुर युनियनका केन्द्रीय सदस्य मधु पुनलगायतले हालका इन्धन भण्डारण क्षमता कम रहेकाले उच्च क्षमताका भण्डारणस्थलको आवश्यकता रहेको बताए । रोहिणी गाउपालिका–३ र ओमसतिया गाउँपालिका–५ क्षेत्रमा निर्माण हुने इन्धन भण्डारण डिपो १० बिघा क्षेत्रफलमा बन्नेछ । यसको लागत तीन अर्ब रहेको छ ।

निर्माण सम्पन्न भएपछि डिजल ६३०० किलो लिटर, पेट्रोल ३२०० लिटर तथा मटीतेल २१० किलोलिटर भण्डारण हुने आयल निगमका प्रबन्धक रामहरि निरौलाले बताए । अहिलेको भण्डारण ज्याँदै साघुरो रहेको र १५ दिनलाई पनि नपुग्ने भएकाले बढी क्षमताका ठूला भण्डारणस्थल अहिले अतिआवश्यक रहेको निरौलाले जनाए ।

प्रतिक्रिया दिनुहोस्