हिमालयन हाइड्रो एक्स्पो ऊर्जा विकासमा केन्द्रित

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२, १३ र १४ गते हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । इप्पानले चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ आयोजना गर्न लागेको हो । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित एक्स्पो आयोजना गर्न लागिएको छ ।
नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानले जनाएको छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट एक्स्पो आयोजनाा गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुनेछ ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय/कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिक नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणको प्रदर्शनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशको सहभागीता रहने छ ।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकतालगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
हाइड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा र युवा पुस्तालाई हाइड्रो सम्बन्धी कार्यमा अभिरुची बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुई मिनेटको भिडियो उत्पादन गर्ने प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्ने जनाएको छ । एक्स्पो आयोजना तथा एक्स्पोको बारेमा केन्द्रित रहेर कारोबारले इप्पानका पदाधिकारी, एक्स्पो व्यवस्थापन र सहभागीसँग गरेको कुराकानीको सारः

हामीले विगत ४ वर्षदेखि एक्स्पो आयोजना गर्दै आएका छौं । विगतका वर्षमा एक्स्पो गर्दा नेपाल सरकारको माग र उद्देश्य फरक थियो । सीमित स्रोत थियो । यहाँ उत्पादन भएको विद्युत कहाँ लगेर बिक्री गर्ने भन्ने कुनै योजना थिएन । पछिल्लो समय भने फरक वातावरण र अवस्था छ । सरकारले भारतसँग १० वर्षमा १० हजार मेगावाट बिक्री गर्ने सम्झौता भएको छ । यसैलाई आधार मानेर सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने भनेको छ ।
जसमा १३ हजार ५ सय मेगावाट भने नेपालमै खपत गर्ने मार्गचित्र बनाएर अगाडि बढेको छ । बढी भएको विद्युत छिमेकी मुलुकमा बिक्री गर्ने सरकारको योजना छ । योजनाअनुसार कार्यान्वयन भए मुलुकले ऊर्जा क्षेत्रको विकासमा ठूलो फड्को मार्नेछ । यसका लागि निजी, नेपाली आम जनसुमदाय र सरकारको समन्वय आवश्यक छ । यसका लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।
यो सबै गर्नका लागि तोकिएको समयमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न लगानी मात्र भएर पुग्दैन । यसका लागि पछिल्लो समय विकास भएको प्रविधि, ज्ञान सीपको प्रयोग गरेर विश्वभरका लगानीकर्तालाई आकर्षित गर्न सक्नुपर्छ । नेपालका निजी क्षेत्र र विदेशमा भएका नेपालीहरुको समन्वयमा योजना साकार पार्नुपर्छ । मुलुक उर्जामय भएको छ । उर्जा क्षेत्रका कम्पनीमा आम जनमानसको चासोका कारण सेयरमार्फत लगानी थपिने क्रममा रहेकाले सबैको एक्स्पोमा आकर्षण हुने छ ।
नेपालले लगानी किन गर्ने ? यसबाट के फाइदा छ ? विदेशमा निर्यात किन गर्ने ? भारतसँगको निर्यातमा के कस्तो समस्या छ ? कसरी समाधान गर्न सकिन्छ लगायतका सेसन भएकाले जलविद्युतमा लगानी गर्न चाहनेको आकर्षण हुने छ । एक्स्पो पहिलाको भन्दा भिन्न हुन्छ । पहिले धेरै मान्छे किन आएनन् भन्ने हुन्थ्यो । अहिले बजारको माग तथा अवस्था हेर्दा म छुटेंछु की भन्ने भान हुन्छ । एक्स्पोमा धेरैले चासो देखाएका छन् । हिजो र अहिलेको बजार फरक छ । विगतमा सीमित डेभलपर थिए, अहिले आयोजना ७ सयको हाराहारीमा आएका छन् । नयाँ आयोजना विकास गर्नका लागि डेभलपरको बारेमा बुझ्दा वर्षौं बित्छ ।
एक्स्पोमा सबै प्रविधिसहितका डेभलपरको सहभागिता हुने हुँदा यसको आकर्षण बढेको छ । विश्व बजारले लगानीको क्षेत्र भएकाले पनि एक्स्पोमा आकर्षण छ । १४ देशले सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् । विश्वका जलविद्युतका औजार तथा प्रविधि बीमा बैंकको सहभागिता हुनेछ । अबको बजार भनेको उर्जा क्षेत्र नै हो, उर्जाको विकास सँगसँगै मात्र उद्योगधन्दा, कलकारखाना सञ्चालन हुने भएकाले अन्य उद्योगले पनि चासो राखेको अवस्था छ । लगानी कसरी गर्ने ? बजार कस्तो छ भन्नेबारेमा एक्सपोमा जानकारी लिन सकिने भएकाले गर्दा विगतको भन्दा भिन्न हुनेछ ।
६ देखि ७ सेसन आयोजना गर्दैछौं । सेसनमा लगानी किन गर्ने, लगानी गर्दा फाइदा के छ । नेपालमा उर्जाको क्षेत्रको बजार र सम्भावना के छ । उर्जाबाट नेपालको आर्थिक विकास कसरी सम्भव छ । नेपालमा उर्जाको विकास गर्दा अन्य क्षेत्रको समेतसँगै विकास हुन्छ भन्ने सेसन रहेका छन् । उर्जा र वातावरण, ट्रेडको अवस्था के छ, लगानी कसरी कहाँ गर्ने लगानी गर्दा के के कुरामा ध्यान दिनु पर्छ भन्ने बारेमा एकै थलोमा जानकारी प्रदान गर्नका लागि पनि एक्स्पो महत्वपूर्ण रहेको छ ।

पहिले एक्स्पो आयोजना गर्दै गर्दा आयोजना र यो क्षेत्रको लगानी पनि सीमित थिए । पछिल्लो समय आयोजना वृद्धि भएको छ । २८ हजार ५ सय मेगावाट कार्यान्वयनको चरणमा हुँदा जलविद्युतमा हामी विश्वकै ठूलो बजार पनि हुन सक्छौं । यो क्षेत्रमा भविष्य र आयको राम्रो बजार देखेर उत्पादनकर्ताले लगानी गरिरहेका छन् । विगतमा भन्दा जलविद्युत क्षेत्रमा लगानी र यो क्षेत्र विस्तार हुँदै गएको छ । अर्काेतर्फ सोही अनुसार जनचासो पनि बढेको छ ।
निर्माण सामग्रीदेखि यो क्षेत्रमा प्रयोग हुने औजार, बीमा, बैंक हाइड्रोपावरको लाइसेन्स लिएदेखि विद्युत उत्पादनसम्मको सेवा र सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ । साथै माग अनुसारको जानकरी दिने र टेक्निकल क्लासहरुमा पनि छलफल गर्दैछौं । प्राविधिक सेसनमा एक्स्पोमा बढी भएको विद्युत कसरी बिक्री गर्न सकिन्छ भनेर कुरा गर्छाैं । आन्तरिक खपत, लगानी कसरी जुटाउने भनेर पनि कुरा गर्छाै । महिलाको नेतृत्व विकास लगायतका सेसनमा विभिन्न क्षेत्रका विज्ञहरुसँगको छलफल आयोजना हुनेछ ।

२०१८ मा पहिलो हाइड्रो एक्स्पो आयोजना भएको थियो । हाइड्रो एक्स्पो आयोजनाले जनचेतना बढ्ने भएकाले पनि आयोजना गर्दै आएका छौं । सन् २०१८ सम्म ७ सय मेगावाट विद्युत उत्पादन थियो भने सन् २०२४ सम्म आइपुग्दा ३१ सय ३६ मेगावाट विद्युत उत्पादन पुगेको छ । अबको समय भनेको हाइड्रोपावरको बजारको अवस्था के छ र भविष्य कस्तो छ भनेर एक्स्पोमार्फत जानकारी गराउने हो । सरकारले २८ हजार ५ सयको योजना अगाडि सारेपछि बजार पनि थप सकृय भएको छ ।
एक्स्पोमा भारतसहित अन्य मुलुकबाट पनि राम्रो उपस्थिति रहेको छ । पहिले हामीले हाम्रो आयोजनाका लागि बाहिर गएर जानकारी लिनुपर्ने अवस्था थियो भने एक्स्पोमा सहभागी भएर हामीलाई जानकारी गराउँदै आएका छन् । एक्स्पोले गर्दा हाइड्रोपावर डेभलपर र यो क्षेत्रका सरोकारवालालाई पनि लाभ प्राप्त भएको छ । एक्स्पोमा हाइड्रोसँग सम्बन्धित सबै खालका प्रडक्टको सहभागिता हुने छ । त्योबाहेक पनि यस वर्ष ग्रीन इनर्जी फर प्रस्पेरिटीको आधार बनाएर भर्खरै काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजनको परीक्षण एक्स्पोमा रहने भएकाले आकर्षण छ ।
अर्काे आकर्षणमा विद्यार्थी वर्गलाई पनि जोड दिएका छौं । विद्यार्थीले उत्पादन गरेका प्रडक्टले पनि एक्स्पोमा सहभागीता जनाउने भएकाले उनीहरुको ज्ञान र सीप पनि बढ्ने हुन्छ । ग्रीन इनर्जी फर प्रस्पेरिटीमा नेपाल कसरी विकास गर्न सकिन्छ भनेर विज्ञहरुको राय सुझाव संकलन गर्ने छौं । हाइड्रोपावर प्रडक्ट प्रतियोगीता समेत आयोजना गरिएको छ । कुनै पनि व्यक्तिले जन्माएको आइडियाहरु प्रतिस्पर्धामा राखिनेछन् । जसले गर्दा त्यो आइडियालाई संस्थागत गर्न सहयोग पुग्नेछ । व्यवस्थापनका विद्यार्थीहरुलाई समेत राखेका छौं । हाइड्रोपावर टेक्निकल हुन्छ तर त्यसको व्यवस्थापन कसरी गर्ने भनेर पनि उनीको सहभागीता आवश्यक छ ।
त्यस्तो परियोजनालाई प्रतिस्पर्धामा राखिने र उनीहरुले ल्याएको वस्तुको उपस्थित जजहरुले मूल्यांकन गरी मार्किङ गर्नु हुनेछ । उक्त मार्किङका आधार नै पहिलो दोस्रो नम्बर दिइने छ । पछिल्लो समयमा धेरैले मोबाइल क्यामेराबाट भिडियो बनाइरहेका छन् । स्वदेशी उत्पादनको बढी खपतलाई बढावा दिनका लागि हामीले यस पटक इभी र्याली पनि गर्नेछौं । पछिल्लो समय विद्युतीय गाडी पनि धेरै आइरहेका छन् । त्यसको अझै बढी जनचेता जगाउन यस पटक हामीले इभी र्याली राखेका छौं ।

एक्स्पोको आयोजना विश्वका अन्य देशमा पनि हुँदै आएका छन् । नेपालको एक्स्पो अलिक फरक छ । एक्स्पोमा प्रत्यक्ष रुपमा आपूर्तिकर्ता र हाइड्रो डेभलपरसँग संवाद गर्न पाउने छन् । ग्राउण्ड लेभलको एक्स्पो हो । विदेशी कम्पनीका लागि पनि ठूलो अवसर हो । डेभलपर, कन्सल्टिङ कम्पनी, बैंकरसँग एकै थलोमा भेट हुने भएकाले गर्दा एक्स्पो जलविद्युतसँग सरोकार राख्ने सबैको लागि महत्वपूर्ण रहेको छ । वस्तु तथा सेवा प्रवर्द्धनका लागि एक्स्पोमा सहभागिता जनाउने हो ।
उर्जा क्षेत्रका सबैको सहभागिता हुने हुँदा वस्तु तथा सेवाको प्रवर्द्धनमा मद्दत पुग्छ । यस्ता सेसनलाई सिक्ने र सिकाउने रुपका लिनुपर्छ । एक्स्पोमा संसारभरका विज्ञहरुको सहभागीता हुने भएकाले कुन देशमा कस्तो अभ्यास भइरहेको छ त्यसबारे प्राविधिक सेसन गराएर लाभ दिन सक्नुपर्छ । यसको कसरी विकास गर्न सकिन्छ ? हाम्रो देशमा कस्तो प्रविधि विकास गर्न भन्नेबारेमा एक्स्पो फलदायी हुने आशा गरेका छौं । काठमाडौं विश्वविद्यालयले तयार पारेको ग्रिन हाइड्रोजन कार र इभी ट्रयाक्टर पनि एक्स्पोको आकर्षण बन्ने अपेक्षा छ ।