नौ महिनामा साढे पाँच लाख विदेशिए

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनासम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५ लाख ४० हजार पुगेको छ । यो संख्या विदेश गएर बिदामा आई पुनः श्रमस्वीकृति लिनेको समेत हो ।
वैदेशिक रोजगार विभागले सार्वजनिक ९ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि जानेको संख्या पनि विगत वर्षजस्तै ७ लाखभन्दा बढी हुने देखिएको छ । विभागका निर्देशक लोकनाथ भुसालले चालु आवमा पनि गत चैतमा श्रमस्वीकृति लिनेको संख्या उच्च रहेको बताए ।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा ५ लाख ८५ हजार ६०७ श्रमस्वीकृति जारी भएकोमा यो वर्षको सोही अवधिमा ४६ हजार ५३५ सय घटेर ५ लाख ३९ हजार कायम भएको छ । चालु आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिकमा ४३ हजार, मंसिरमा ७१ हजार, पुषमा ६५ हजार, माघमा ६२ हजार, फागुनमा ६५ हजार र चैत ७१ हजार श्रमस्वीकृति जारी भएको देखिन्छ ।
ठूला चाडपर्व सकिएका कारण आगामी ५ महिनामा श्रमस्वीकृति लिनेको संख्या बढ्ने विभागको अनुमान छ । पछिल्लो समय साउदी अरब जानेको संख्या घटेर मलेसिया र कतार जाने बढिरहेका छन् । चैतको तथ्यांकले खाडी राष्ट्रमध्ये पनि यूएई जानेको संख्या बढेको देखाएको छ । कतार, मलेसिया, साउदी अरब, कुबेत, बहराइन, कोरिया जाने युवाको संख्या पनि उच्च छ ।
मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको शुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको थियो । गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको भए पनि हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपालको वैदेशिक रोजगारीमा परेको छ । गत वर्ष साउदी अरबमा रहेका श्रमिक पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुनः मलेसिया जाने प्रवृत्ति देखिएका कारण संख्या वृद्धि भएको थियो ।
अघिल्लो आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको ९ महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि नेपाल आउने रेमिटेन्स वृद्धि हुने देखिन्छ । कोभिड लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आएपछि डेढ वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । गत साउनपछि मासिक औषत ५९ हजार युवा रोजगारी खोज्दै विदेश गएका छन् ।
कोरोना संक्रमण मत्थर भएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढ्दै गएको हो । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार बीचमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । अघिल्ला दुई आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या घट्दो दरमा थियो । तर, गत आवबाट यो लयमा फर्किएको छ । अघिल्लो आवमा ७ लाख ७१ हजार युवाले विदेशमा रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए ।