Logo

मोबाइल ब्रोडब्यान्ड दोब्बर, फिक्स्ड तीन गुणा

काठमाडौं– सरकारले लिएको उदार नीतिका कारण पछिल्लो पाँच वर्षमा मोबाइल ब्रोडब्यान्ड दोब्बरले विस्तार भएको छ भने फिक्स्ड ब्रोडब्यान्ड झन्डै तीन गुणाले बढेको छ । दूरसञ्चार प्राधिकरणका अनुसार आव २०७६–७७ पछि इन्टरनेट सेवा विस्तार आक्रामक रुपमा बढेको हो । मोबाइल ब्रोडब्यान्डमात्र नभई फिक्स्ड ब्रोडब्यान्डको विस्तार पनि उत्साहप्रद देखिन्छ ।

प्राधिकरणका अनुसार नेपालमा ३ करोड ८३ लाखको संख्यामा इन्टरनेट ग्राहक छन् । जसमध्ये २ करोड ८७ लाख ४२ हजार ग्राहक मोबाइल ब्रोडब्यान्डका छन् भने ९५ लाख ५८ हजार ३ सय २१ ग्राहक फिक्स्ड ब्रोडब्यान्डका हुन् । आव २०७६–७७ मा १ करोड ९४ लाख रहेका इन्टरनेट ग्राहक गत आव (२०७९–८०) सम्ममा झन्डै ४ करोड पुगेका छन् । पाँच वर्षअघि १ करोड ५२ लाख रहेको मोबाइल ब्रोडब्यान्ड गत आवसम्ममा २ करोड ८७ लाख पुगेको छ । यस्तै, पाँच वर्षअघि ३३ लाख २२ हजार रहेका फिक्स्ड ब्रोडब्यान्डका ग्राहक गत आवसम्ममा ९५ लाख ५८ हजार पुगेका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका अनुसार कोभिड महामारीका कारण यो सेवाका ग्राहक ह्वात्तै घटेका हुन् । कोभिडपछि प्रायः काम अनलाइनबाट नै हुने भएकाले अवस्था सामान्य भइसक्दा पनि ग्राहक भने घटेका छैनन् । महामारीकै समय अर्थात् २०७७ वैशाखदेखि २०७८ वैशाखसम्म ५८ लाख इन्टरनेट ग्राहक थपिएको प्राधिकरणको तथ्यांक छ । नेपाली बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० भन्दा बढी कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले कोभिड महामारीकै अवधिमा ग्राहक संख्या विस्तार गरेका हुन् ।

प्राधिकरणका अनुसार कुल इन्टरनेट खपतमा मोबाइल ब्रोडब्यान्डको हिस्सा ७०.१५ प्रतिशत रहँदा फिक्स्ड ब्रोडब्यान्ड ग्राहकको संख्या भने २९.६९ प्रतिशत छ । मोबाइल ब्रोडब्यान्डमा नेपाल टेलिकम पहिलो र एनसेल दोस्रो स्थानमा छन् । हाल नेपालको कुल जनसंख्याको ६५.९ प्रतिशतमा इन्टरनेट सेवाको पहुँच पुगेको छ भने डिजिटल साक्षरता ४० प्रतिशत, टेलिभिजन पहुँच ७२ प्रतिशतमा र रेडियो ८६ प्रतिशतमा पुगेको छ ।

नुम्बिओका अनुसार नेपालको इन्टरनेट महँगीको ९६ औं स्थानमा पर्छ । मोबाइल डाटा महँगो र सर्वसुलभ सेवा नहुँदा आर्थिक अवसर र पहुँचबाट टाढा रहेका वर्ग इन्टरनेटमा अझै पूर्ण रूपमा समेटिन सकेका छैनन् । यसैले अहिले नै इन्टरनेटलाई विलासिता भन्दा पर आवश्यकता र अधिकारको स्वरूपमा हेर्न सकिन्न । इन्टरनेट आफैंमा पहुँचयुक्त र समावेशी नभएको आवाज उठिरहेको छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी मोबाइल सेवाका क्षेत्रमा तेस्रो अपरेटर आउन नसक्दा अहिलेको समस्या देखिएको बताउँछन् । अहिले बजारमा दुईवटा मात्रै प्रतिस्पर्धी रहेको र प्रतिस्पर्धा नभएकै कारण ‘ड्युओपोली’ भएको त होइन भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ । डुओपोली बजार मोनोपोलीभन्दा खराब हुन सक्ने उनको भनाइ छ ।

अध्यक्ष भण्डारीले दूरसञ्चार सेवाको शुल्क अन्य केही देशको तुलनामा बढी नभए पनि प्रतिव्यक्ति आयको हिसाबले हेर्दा सस्तो मान्न नसकिने बताए । मोबाइल सेवा प्रदायकहरुको आम्दानी निरन्तर घट्दै गइरहेको तर लाइसेन्स नवीकरण र फ्रिक्वेन्सी दस्तुरमा भने कमी नआएको भए पनि नवीनतम प्रविधिमा लगानी गर्नुपर्ने बाध्यता अपरेटरहरुले भोगिरहेको उनले हालै एक कार्यक्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्