राउटे समुदाय पनि बैंक खाता खोल्दै

सुर्खेत– पश्चिम नेपालको पहाडी जिल्लामा बसोबास गर्दै आएका लोपोन्मुख राउटेहरुको बैंक खाता खोलिने भएको छ । सरकारबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज तवरमा उपलब्ध गराउने भन्दै उनीहरुको बैंक खाता खोल्न लागिएको हो ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सहज बनाउन उनीहरूको बैंक खाता खोल्न लागिएको गुराँस गाउँपालिका दैलेखका अध्यक्ष टोपबहादुर बिसीले बताए । गुराँस गाउँपालिका–८ मा राउटेको पनि बसोबास छ । बैंक खाता खोल्न संकलन भएका विवरणले उनीहरूको पहिचान गर्न सहज हुने अध्यक्ष बिसीको भनाइ छ ।
‘राउटे समुदाय जंगलमा फिरन्ते जीवन बिताउँदै आएको छ । उनीहरूलाई राज्यको मूल प्रवाहमा जोड्न बैंक खाता खोल्न लागिएको हो । बैंक खाता खोलेपछि उनीहरू सरेको ठाउँमा भत्ता वितरण गर्न जाँदा हुन राज्यको खर्चसमेत कम हुन्छ’ अध्यक्ष बिसीले भने ।
बैंकमार्फत उनीहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराए उनीहरूले गर्ने खर्चमा बचत हुने अपेक्षा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निदेश दाहालले बताए । खाता खोल्न हालसम्म १०७ जना राउटेको विवरण संकलन भइसकेको दाहालको भनाइ छ ।
‘राउटेको पहिलो पटक बैंक खाता खोल्ने प्रक्रिया सुरु गरेका छौं । उनीहरू जहाँ गए पनि संघीय सरकारले राउटेको सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकामा पठाउने गरेको छ । जम्मा १३७ जना राउटेमध्ये बैंक खाता खोल्न १०७ जनाको विवरण संकलन भइसकेको छ । अन्यको विवरण संकलनमा लागेका छौं’ निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले भने ।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे हाल यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पादुकामा बस्दै आएका छन् । अहिले उनीहरूको जनसंख्या १३७ रहेकोमा पछिल्ला वर्ष जनसंख्या घट्दो छ । बसोबास गर्दै आएको ठाउँमा कुनै सदस्यको मृत्यु भए तत्कालै उक्त ठाउँ छाड्नुपर्ने राउटेको चलन छ ।
आफैंले बनाएका काठका सामग्री बिक्री गरी जीवन गुजार्दै आएका राउटे पछिल्ला वर्षमा मदिरालगायतको कुलतमा फस्दै गएका छन् । उनीहरूलाई राज्यको मूल प्रवाहमा जोड्न सरकारी निकासँगै विभिन्न सामाजिक संघ संस्थाहरूले काम गर्दै आएका छन् ।