Logo

वाटर र फनपार्कमा भारतीय पर्यटकको ओइरो

विराटनगर– कोरोनाका कारण लामो समय सुस्ताएको पूर्वको पर्यटन व्यवसाय पछिल्लो समय जुर्मुराएको छ । पर्यटनसँग सम्बन्धित सबैजसो व्यवसाय चलामान हुन थालेको स्वयम् व्यवसायीहरू नै बताउँछन् । अझ गर्मी मौसम सुरु भएसँगै फनपार्कमा भारतीयसहित आन्तरिक पर्यटकको आवागमन बाक्लो देखिन थालेको छ । पछिल्लो समय कोशी प्रदेशमा पर्यटन क्षेत्रमा आक्रमक लगानी भइरहेको छ ।

विशेष गरी भारतीय र आन्तरिक पर्यटकलाई ध्यानमा राखेर सुविधा सम्पन्न स्वीमिङपुलसहितका फनपार्क सञ्चालनमा ल्याउने होडबाजी नै चलेको छ । इटहरीस्थित इपील्याण्ड एण्ड वाटरपार्कमा फागुनयता भारतीय पर्यटकको आवागमन ह्वात्तै बढेको सञ्चालक भीम पौडेलले बताए । फनपार्क सञ्चालक समितिका अध्यक्षसमेत रहेका व्यवसायी पौडेलका अनुसार पछिल्लो समय ४० प्रतिशतले भारतीय पर्यटक बढेका छन् । नयाँ वर्षको पहिलो र दोस्रो दिन फनपार्कमा करिब ६ हजारले भ्रमण गरेका छन् ।

त्यसमध्ये ६० प्रतिशत भारतीय पर्यटक आएको उनको भनाइ छ । नयाँ वर्षबाहेक अन्य समयमा पनि आन्तरिक र भारतीय गरी दैनिक एक हजारको संख्यामा फनपार्क घुम्न आउने गरेका छन् । भौतिक संरचनाको विकास गरिदिने हो भने नेपालको आर्थिक विकास पर्यटनबाट हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्षसमेत रहेका पौडेलको भनाइ छ । १६ करोडभन्दा बढी जनसंख्या भएको भारतको बिहार राज्य नजिक भएकाले पर्यटकको कमी नहुने पौडेलले बताए । भारतीय पर्यटकलाई सीमा नाकामा चेकजाँच गरेपछि अन्य स्थानमा गर्न नहुने उनको सुझाव छ ।

‘विभिन्न बहानामा ठाउँ–ठाउँमा चेकिङ गर्दा भारतीय पर्यटकमा नकारात्मक सन्देश जान सक्छ’ पौडेलले भने, ‘नेपाल प्रवेश गर्ने नाकामा चेकजाँच गरिसकेपछि अन्य ठाउँमा किन चेकजाँच गर्नु ? यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’ भारतीय मात्रै नभएर नेपालीहरूमा पनि घुम्ने बानीको विकास हुँदै गएको पौडेलको बुझाइ छ । ६ बिघा क्षेत्रफलमा फैलिएको इपील्याण्ड एण्ड वाटरपार्कमा सुविधा सम्पन्न दुईवटा स्वीमिङ पुल, वाटरपार्क, चिप्लेटी, रोटेपिङ, डुंगा, चाकाचुलीलगायत बालबालिकाका लागिसमेत प्रशस्त खेल्ने सामग्री रहेको लेखा अधिकृत चेतन अधिकारीले जानकारी दिए ।

पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन् । एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन् । दिनभरिमा ५ हजारले यसको रमाइलो उठाउन सक्नेछन् । पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउने उनको भनाइ छ । इपील्याण्डमा मात्रै ७० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । इपील्याण्ड फनपार्कमा घुम्दा छुट्टै आनन्द आउने गरेकाले आफू पटकपटक आएको भारत अररियाका सुरेशकुमार रजकले बताए ।

उनी परिवारसहित चार पटक आएको सुनाउँछन् । ‘यहाँ घुम्दा छुट्टै आनन्द आउँछ । अझ पानी चिप्लेटी खेल्दाको आनन्द नै बेग्लै छ’ उनले थपे, ‘यहाँ घुमेर भेडेटारमा बास बस्न जान्छौं ।’ पूर्वको विराटनगर, विराटचोक, दमक, सुरुङ्गा, विर्तामोडलगायतका स्थानमा सुविधासम्पन्न फनपार्क सञ्चालनमा आएका छन् । झापाको सुरुङमा सञ्चालित ह्यापील्याण्डमा पनि भारतीय पर्यटकको आकर्षण बढ्दै गएको सञ्चालकको भनाइ छ । विराटनगरमा सञ्चालित गोपाल फनपार्क, एकुवा पार्कलगायतमा पनि आन्तरिक र सीमावर्ती भारतीय पर्यटकको आवागमन बढ्दै गएको छ ।

पर्यटन क्षेत्रमा शुभसंकेत देखिएको नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशको पर्यटन समितिका संयोजक तथा पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ बताउँछन् । विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना गर्न पर्यटन क्षेत्रको अग्रणी भूमिका रहने श्रेष्ठको भनाइ छ । ‘एकजना पर्यटक आउँदा ९ जनाले रोजगारी पाउँछन् भनिन्छ’ श्रेष्ठले भने, ‘हुन पनि पर्यटक आउँदा रिक्सा चल्छ, चिया पसल, चल्छ, होटलमा बस्दा खानेकुरा खान्छ । यस हिसाबले चामल, दाल, तरकारी सबै थोको खपत बढ्छ । अनि बजारमा आर्थिक चलायमान पनि भयो ।’

प्रतिक्रिया दिनुहोस्