वर्षौंदेखि साँघुबाटै वारपार «

वर्षौंदेखि साँघुबाटै वारपार

वषौंदेखि साँघुरो र जोखिमयुक्त साँघुबाटै स्कुले बालबालिका हातखुट्टा टेकेर विद्यालय पुग्ने गरेका छन् । घाँसपात ओसार्न पनि स्थानीयलाई उस्तै असहज अवस्था छ ।
हिउँदमा खोलो सुक्दा खोलामै पसेर तर्न सकिन्छ तर बर्खामा खोलो उर्लिंदा भने निकै समस्या हुन्छ । यो कुनै दुर्गम गाउँको समस्या होइन । जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिकाभित्रको सुगम ठाउँ सीमखेतको समस्या हो यो । कुश्मा नगरपालिका १० को पिपलटारी र फलेवास नगरपालिका–३ शंकरपोखरीको सिमाना सिमखेतस्थित मल्र्याङ्दीखोलामा पुल नहुँदा वर्षौंदेखि स्थानीय समस्या झेल्न बाध्य छन् ।
खोलाको वारिपारि रहेका बस्तीका करिब दुई सय घर परिवारले पुल नहुँदा काठको मुढोबाट जोखिम मोलेर खोलो तर्दै आएका छन् । पुल वारिका बासिन्दाको खेतीपाती पारि छ भने पारिका बासिन्दाको वारि छ । पुल नहुँदा खेतीपाती र मेलापात गर्नेलाई निकै समस्या हुने गरेको स्थानीय हेमप्रसाद अधिकारीले बताए । “स्कुल जाँदै गरेकी हाम्रै गाउँकी बलबहादुर विककी छोरी ३÷४ वर्षअगाडि खसेर बितिन,” अधिकारीले भने, “बच्चाहरूलाई एक्लै पठाउँदा पुलबाट खस्ने हुन् कि भन्ने त्रास हुन्छ ।” उनले भने, “न समाउने डाली न टेक्ने हाँगो भनेजस्तै यो साँघुबाट ज्यान हत्केलामा राखेर हिँडिरहेका छौँ ।”
७० वर्षीय गुमादेवी अधिकारीले आफू जान्ने भएदेखि यसरी नै जोखिम मोलेर खोलो तर्ने गरेको बताए । “पारिको खेत छ वारिबाट मेलापात जान समस्या हुने गर्छ,” उनले भने । उनले आफ्ना हलगोरु खोलाले बगाएको पनि सम्झिनु भयो । यहाँ राखिएको मुढा बर्सेनि खोलामा आउने बाढीले बगाउने गरेको छ । “बर्खामा बर्सेनि मुढा खोलाले बगाउँदा समस्या हुने गर्छ,” प्रेमबहादुर कार्कीले भने, “फेरि यत्रो काठ जहाँसुकै वनमा पाइँदैन ।”
यहाँ पुल नहुँदा गाउँले त्रहीत्रही भैरहँदा झण्डै एक सय मिटर तल मल्र्याङ्दी खोलामा रहेको झोलुंगे पुल बेकामे बनेको छ । उक्त पुल उप्काएर समस्या रहेको सिमखेतमा सार्न स्थानीयले माग गरेका छन् । झोलुंगे पुलनजिकै पक्की पुल बनेको छ । एकै ठाउँमा झोलुंगे पुल र पक्कि पुल छन् । “एउटै खोलाको एकै ठाउँमा झोलुंगे पुल र पक्कि पुल बनाइए पनि नजिकै रहेको गाउँमा मुढाबाट जोखिम मोलेर खोलो तर्न बाध्य हुनु बिडम्वना हो,” स्थानीय युवा शिव अधिकारीले भने, “हाम्रा गाउँमा नेता धेरै भए तर यो गाउँ हेर्ने कोही भएनन् ।”

प्रतिक्रिया दिनुहोस्