Logo

सुप्रिम सहकारी पीडित आन्दोलित

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै बचतकर्ताहरूले मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीले सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर, जीबी राई खोई ? भन्देऊ न रबी दाइ’,‘जीबी राई कहाँ छ ? रबी दाईलाई थाहा छ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । सोमबार मात्र सुप्रिमका बचतकर्ताको २ करोड रकम गैरकानुनी हिसाबले गृहमन्त्री रवि लामिछानेको खातामा गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो ।

प्रदर्शनका क्रममा सहकारी पीडितहरूले अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका थिए । सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न गरे ।

अर्का बचतकर्ता कृष्णप्रसाद खरेलले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भए पनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा शंका उत्पन्न भएको बताए । सुप्रिमका अध्यक्ष राईसहित एमालेकै अर्का नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने खरेलको भनाइ छ ।

राईलाई छिटो पक्राउ नगरे तथ्य प्रमाणहरू नष्ट हुनसक्ने भएकाले राईको सुरक्षा र पक्राउलाई सरकारले प्राथमिकता दिनुपर्ने अर्का सहकारी पीडित देवीलाल भट्टराईले बताए । सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले राई र लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा १० हजार बढी बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी अनुसन्धान अनुसार सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १३ करोड ६ लाख रुपैयाँ सारिएको छ भने लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ  ।

लामिछानेका नाममा दुई करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको देखिएको छ । २ करोड ऋण बापत ४ लाख रुपैयाँ सेवा शुल्क कट्टा गरेर १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको प्रहरीले पुष्टि गरेको छ  । लामिछाने हालसम्म पनि सुप्रिम सहकारीको ऋणी रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ  ।

दुई करोड ऋणको किस्ता दुई पटक तिरिएको तर दुवै पटक सुप्रिम सहकारीकै बचत प्रयोग गरिएको प्रतिवेदनमा छ  । सुप्रिमको रकम हिनामिना प्रकरणमा सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाँई पाण्डे, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्