१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा २८ हजार ७५० उत्पादन दाबी गरेका छन् । जलविद्युत आयोजना निर्माण र उत्पादन बढ्दै गएको ११२ वर्षमा जे जति प्रगति भए पनि अब अब गुणात्मक रूपमा विकास हुने बताए ।
जिल्ला समन्वय समिति दोलखाले काठमाडौं आयोजना गरेको दोलखाका जलविद्युत आयोजनाबाट प्राप्त अवसर, समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् । लामो समय अल्मलेर बसे तापनि गणतन्त्र आएपछिको १५ वर्षको अवधिमा २५ सय मेगावाट विद्युत उत्पादन भएको दाबी गरे । अहिलेसम्म ३३ सय मेगावाट विद्युत उत्पादन भइसकेको र आउँदो असारसम्म थप तीन सय मेगावाट विद्युत उत्पादन हुने बताए ।
विद्युत उत्पादन बढ्यो भनेर चिन्ता पनि छ । अब विद्युत खपत बढाउँदै बढी भएको निर्यात गर्ने मन्त्री बस्नेतले बताए । ‘१० मेगावाट मुनिको पीपीएको लाइनमा बस्नु पर्दैन,’ उनले भने, ‘अब पीपीए लाइन बस्नु पर्दैन, आए जतिको पीपीए हुन्छ ।’ अब चुनौती विद्युत खपत बढाउनु पर्छ, विगतमा आयत बढ्ने गरेकोमा यो वर्षदेखि खरिदभन्दा बिक्री बढ्ने विश्वास गरे । जलविद्युत आयोजनालाई ईआईए कार्यान्वयन गर्न उनले सुझाव दिए । एकीकृत प्रसारण लाइन बनाएर तारको जालो घटाउने प्रयास सुरू हुँदै गरेको उनले दाबी गरे ।
खिम्ती–ढल्केबर अर्को ४ सय केभी प्रसारण लाइन बन्ने
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती ढल्केबर ४ सय केभी प्रसारणलाइन बन्ने बताए । अन्तरक्रिया कार्यक्रममा घिसिङले २२० केभी खिम्ती–ढल्केवर प्रसारण लाइनले अहिलेको विद्युत भार थेग्न नसक्ने भएकाले भविष्यमा उत्पादन हुने विद्युत आयोजनालाई लक्षित गरी अर्को प्रसारणलाइन बनाउन लागेको जानकारी दिए ।
२२० केभीको खिम्ती ढल्केवर ६ वर्षअघि मात्रै विद्युत प्रसारण सुरू भएको हो । दोलखा, रामेछाप र ओखलढुंगामा निर्माण हुने जलविद्युत आयोजनालाई लक्षित गरी खिम्तीमा ४ सय केभी सबस्टेसन बनेको छ । खिम्ती–बाह्रबिसे–काठमाडौं ४ सय केभी प्रसारणलाइन निर्माणाधीन छ । दोलखाको लामाबगरबाट बाह्रबिसेसम्मको २२० केभी प्रसारणलाइन पनि बन्ने उनले बताए । लामाबगरभन्दा माथि बन्न लागेको आयोजनालाई लक्षित गरी सो प्रसारणलाइन बन्न लागेको हो ।
छुट्टाछुट्टै आयोजनाले प्रसारणलाइन बनाउँदा तारैतारको जालो हुने भएपछि एउटै प्रसारणलाइन बनाउन लागेको हो । अब दोलखामा प्रसारण लाइनको समस्या नहुने बताए । खिम्ती १ जलविद्युत आयोजनाको हिमाल पावर लिमिटेड र सरकारको संयुक्त बन्ने कम्पनीमा दोलखा र रामेछापबासीका लागि सेयर सुनिश्चित हुने भएको छ । अब चाँडै संयुक्त कम्पनी बनाउने गरी छलफल चलिरहेको उनले बताए । ४ वर्षअघि नै हिमाल पावर लिमिटेडसँगको डलरमा गरेको पीपीए सकिएको छ ।
अब खिम्ती १ को ५० प्रतिशत स्वामित्व सरकारको नाममा आउँछ । अहिले अन्तरिमकालीन रूपमा प्राधिकरणले २ का दरले भुक्तानी गर्दै आएको छ । ६५ प्रतिशत महसुस अनलाइनबाट आउने गरेको उनले बताए । एक वर्षभित्र शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानेको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाको नौवटै स्थानीय तहका प्रमुख, प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसद र पूर्वमन्त्रीको उपस्थित थियो ।