Logo

अर्थतन्त्रसँग जोडिएको घरजग्गा मूल्य

करिब चार वर्षदेखि सुस्त बनेको घरजग्गा किनबेचको असर अहिले आएर मूल्यमा देखा पर्न सुरु गरेको छ । काठमाडौं उपत्यकाको घरजग्गामा स्थान हेरेर ५ देखि १५ प्रतिशतसम्म गिरावट आएको छ । देशभरिमा सबैभन्दा बढी मूल्य तराई जिल्लामा घटेको छ । रुपन्देही क्षेत्रमा ४० प्रतिशतसम्म मूल्य घटेको छ भने पूर्वी क्षेत्रमा ३० प्रतिशतसम्म गिरावट आएको छ । कतिपय पहाडी जिल्लामा भने घरजग्गा किनबेच नै हुन सकेको छैन ।

बजारबाहेकका अधिकांश पहाडका ग्रामीण क्षेत्रमा जतिसुकै सस्तोमा जग्गा दिए पनि खरिद गर्ने कोही छैनन् । ग्रामीण क्षेत्रका सर्वसाधारणको बसाइँसराइ उच्च दरले भइरहेको छ । त्यही कारण सकेसम्म गाउँमा बस्न खोज्ने कमै छन् । खासमा थोरै पैसा हुनेको रुचि पहाडकै बजार क्षेत्रमा घर बनाउने छ भने त्योभन्दा धेरै पैसा हुनेहरू तराईका जिल्लाहरूमा झरिरहेका छन् । पर्याप्त पैसा हुने र पेसा–व्यवसाय गर्नेहरूको रोजाइ भने काठमाडौं, पोखराजस्ता क्षेत्रमा छ ।

यो अहिलेको मात्र प्रवृत्ति होइन, २०४६ को राजनीतिक परिवर्तनपछि यसैगरी बसाइँसराइ भइरहेको छ । त्यसमा पनि माओवादी द्वन्द्वकालमा मानिसहरू सुरक्षाका कारण पनि सकी–नसकी सहरमा बस्न बाध्य भएका थिए । त्यसबेला हुनेखानेहरू काठमाडौंमा आएर घर बनाएर बसे । नसक्नेहरू डेरा खोजेरै भए पनि बस्न बाध्य बने । अर्कातिर वैदेशिक रोजगारीमा जानेहरूको बढोत्तरीसँगै बसाइँसराइ पनि उच्च दरले बढ्न पुगेको थियो ।

अहिले घरजग्गाको मूल्यमा आएको कमी पनि यही सुस्त अर्थतन्त्रसँग जोडिएको छ । त्यसैले घरजग्गाको मूल्य फेरि बढ्न अर्थतन्त्र उकालो लाग्नुको विकल्प छैन ।

विगतमा यिनै विविध कारणले सहरकेन्द्रित बसाइँसराइको प्रवृत्ति हुँदा घरजग्गाको मूल्य अकासिएको थियो । सहर र सहरोन्मुख क्षेत्रमा बसाइँसराइको चाप बढ्दा ती क्षेत्रमा स–साना घडेरीको मूल्य ‘रात गयो अग्राख पलायो’ भने जसै गरी बढेको थियो । अर्कातिर घरजग्गाको मूल्य प्रत्येक दिनजसो बढेपछि यसमा गरिने लगानीको प्रवृत्तिमा पनि फरक आएको थियो । खासमा घरजग्गा आवासका लागि मात्र जोडिन्छ । तर, घरजग्गाको मूल्य उच्च दरले बढ्न सुरु भएपछि यसमा लगानी गर्न थालिएको थियो ।

माओवादी द्वन्द्व उत्कर्षमा पुग्दा सहर र सहरकेन्द्रित स्थानका जग्गा छोइनसक्नु गरी बढेका थिए । तराई क्षेत्रमा घडेरीका टुक्रा मात्र होइन, धानखेतको मूल्य पनि अकासिन पुगेको थियो । त्यसबेला बन्द व्यापार, उद्योगमा लगानी गर्नुभन्दा जग्गा खरिद गर्दा बढी नाफा आउने अवस्था थियो । उद्योगी–व्यवसायीको समेत रुचि व्यापारभन्दा घरजग्गामा लगानी गर्नु थियो । यही कारण व्यवसायीले पछिल्ला वर्षमा लिएको चालु पुँजीकर्जाको रकम घरजग्गामा बढी लगानी गरेको आरोप लागेको छ ।

कोभिड–महामारी आएपछि भने घरजग्गा क्षेत्रको लगानी र मूल्यमा ठीक विपरीत अवस्था आएको छ । महामारीले अर्थतन्त्रलाई शिथिल बनाएको छ । सबैतिर समस्या मात्र देखिएका छन् । अधिकांशसम्म लगानी गर्ने होइन, दैनिक गुजारा गर्ने धन–पैसासमेत छैन । बजार सुस्त छ । सेयर र घरजग्गा कारोबार पनि चलेको छैन । यस्तोमा सरकारको नयाँ नीतिले कारोबार घटाउन झनै सहयोग पुर्‍यायो । पछिल्ला दुई वर्ष घरजग्गा किनबेच ठप्पजस्तै बन्यो । त्यसको प्रभाव अहिले मूल्यमा देखिन सुरु भएको हो ।

पैसा आवश्यक भएर वा बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न नसक्ने अवस्थामा आएकाले मूल्य घटाएरै भए पनि घरजग्गा बेचेका छन् । एक जनाले मूल्य घटाएर बेचेपछि अर्कोले बढाएर बेच्न सक्ने अवस्था छैन । यही कारण समग्रमा जग्गाको मूल्य घटेको छ । विगतमा एक जनाले मूल्य बढाएर घरजग्गा बिक्री गरेपछि त्यो क्षेत्रमा त्यही भाउ कायम गरिन्थ्यो । अहिले घट्दा पनि त्यही नियम लागू भएको छ । सामान्यतया घरजग्गाको किनबेच र मूल्यमा आउने उतारचढाव त्यो मुलुकको अर्थतन्त्रसँग जोडिएको हुन्छ ।

अर्थतन्त्र उकालो लागेका बेला घरजग्गाको मूल्य पनि क्रमशः बढ्दै जाने र सुस्त अर्थतन्त्र बनेका बेला कारोबार कम भई मूल्य पनि घट्ने हुन्छ । २०४६ पछिका वर्षहरूलाई हेर्दा (माओवादी द्वन्द्वकालमा बाहेक) अर्थतन्त्र सप्रेका बेला घरजग्गाको मूल्य बढेको थियो र अर्थतन्त्रमा समस्या आएका बेला मूल्य घटेको थियो । अहिले घरजग्गाको मूल्यमा आएको कमी पनि यही सुस्त अर्थतन्त्रसँग जोडिएको छ । त्यसैले घरजग्गाको मूल्य फेरि बढ्न अर्थतन्त्र उकालो लाग्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्