Logo

पोखरामा ५० पर्यटकलाई भाइटीका लगाइने

पोखरा- तिहार पर्वको अवसरमा पोखरा भ्रमणमा आएका करिब १० देशका ५० जना पाहुनालाई सप्तरंगी टीका लगाए दाजुको सम्बन्ध जोड्ने गरी यही कात्तिक १२ गते भाइटीका महोत्सव मनाउने तयारी भएको छ ।
नेपाली कला र संस्कृतिको बारेमा विदेशी पाहुनालाई जानकारी गराउँदै नेपाली परम्पराअनुसारको सप्तरंगी टीका लगाउँदै आगन्तुक पाहुनालाई देउसी भैलोको साथमा मीठामीठा खाने कुरा खुवाउने गरी यस वर्ष पनि भाइटीका महोत्सव मनाउने भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।
काम विशेषले टीका लगाउन नपाएका अन्य पर्यटकलाई समेत आफूहरूले टीका लगाउने व्यवस्था मिलाएको संघले जनाएको छ । उक्त महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ भने ट्याम्पल ट्रि रिसोर्ट र बटरफ्लाई चाइल्ड केयर सेन्टर सहयोगीको रूपमा रहेका छन् । उक्त महोत्सवले पर्यटन प्रवद्र्धन हुने अध्यक्ष तुलाचनले विश्वास व्यक्त गरे । कार्यक्रम भाइटीकाको दिनमा अपरान्ह साढे दुई बजेपछि हुनेछ ।
नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिँदै आएको अध्यक्ष तुलाचनले बताए । स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सवले थप टेवा पुग्ने उनले बताए । रेन्बो चिल्ड्रेनका २० जना बहिनीले पर्यटकहरूलाई दाजुको रूपमा सप्तरंगी टीका लगाउने कार्यक्रम रहेको संघका द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक श्रेष्ठले बताए । उक्त महोत्सव सम्पन्न गर्न करिब एक लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्