Logo

निराशा चिर्ने नीतिको खाँचो

युवापुस्ता गाउँबाट सहर पस्ने र सहरबाट पनि विदेश भासिने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । युवापुस्ता गाउँबाट सहर पस्ने र सहरबाट पनि विदेश भासिने क्रम बढेसँगै गाउँ युवाविहीन बन्न थालेको छ भने सहरमा पनि आवश्यक युवा जनशक्तिको अभाव देखिन थालेको छ । यस्तो अभाव पूर्ति गर्न भारतीय कामदारको भर पर्नुपर्ने अवस्था पनि सिर्जना भएको छ, जसले गर्दा नेपाली कामदारले विदेशबाट विप्रेषण पठाएजस्तै भारतीय कामदारले नेपालबाट विप्रेषण पठाउने क्रम पनि बढेको छ ।

अहिले दिनमा औसत हजारभन्दा बढीको संख्यामा नेपाली युवा कामका लागि विदेश गइरहेको तथ्यांक छ । आखिर किन यति ठूलो संख्यामा नेपाली युवा कामका लागि बिदेसिरहेका छन् ? गाउँघर नै युवाविहीन पारेर नेपाली युवा रहरले विदेश गइरहेका छन् कि बाध्यताले ? यसबारेमा कुनै औपचारिक अध्ययन–अनुसन्धान भएको पाइँदैन । तर, अध्ययन–अनुसन्धान नै गर्ने हो भने यस्तो अत्याशलाग्दो गरी नेपाली युवा बिदेसिनुको कारणमा रहरभन्दा बाध्यताको पल्ला भारी हुने निश्चित छ ।

नेपाली युवा ठूलो संख्यामा बिदेसिनुमा धेरै थरी आर्थिक, सामाजिक र राजनीतिक कारण छन् । विद्यमान कहालीलाग्दो बेरोजगारी, गरिबी र राज्यप्रतिको निराशाले डोर्याइएका धेरै नेपाली युवा आफ्नो उज्ज्वल भविष्यको सपना साँच्दै बिदेसिने गरेका छन् । अर्थतन्त्रमा छाएको मन्दीले रोजगारी सिर्जना ठप्पजस्तै छ । तर बर्सेनि श्रमबजारमा प्रवेश गर्ने जनशक्तिको संख्या भने झन्डै साढे ५ लाख पुगेको अनौपचारिक तथ्यांक छ, जसले गर्दा बेरोजगारको संख्या दिनप्रतिदिन बढिरहेको छ । रोजगारीको अवसर पाउनु भाग्योदय चिठ्ठा पर्नुजस्तै भएको छ । यस्तै कारणले नेपाली युवा रोजगारीकै लागि बिदेसिन विवश छन् ।

अझै पनि देशमा १५.१ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनिको जीवनयापन गर्न बाध्य छन् । यही गरिबीबाट छुट्कारा पाउनका लागि आयआर्जनको विकल्प खोज्ने महत्वाकांक्षी युवा गाउँघरमै बसेर गर्न सकिने कृषिकर्मलाई लत्याएर छिटो कमाउने र धेरै कमाउने आशामा वैदेशिक रोजगारीमा हान्निँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने रोजगारीका लागि बिदेसिने युवाको भीड यही आशा र सपनाको परिणाम हो ।

देशको राजनीति र राज्य आमनेपाली जनताको आशा र भरोसाको केन्द्र हो । तर, नेपालको वर्तमान राजनीति र राज्यले पनि नेपाली जनतामा कुनै आशा र भरोसा जगाउन सकेको छैन । बरु चरम निराशा मात्रै दिएको छ, देशको वर्तमान राजनीति र राज्यले पनि । यही निराशाले डोर्याइएका युवा अन्ततोगत्वा केही गर्ने, केही कमाउने र आफ्नो र परिवारको भविष्य सुनिश्चित गर्ने सपनाले अनेक दुःखकष्ट सहेर पनि वैदेशिक रोजगारीमा जान लालायित छन् । वैदेशिक रोजगारीमा जान खोज्ने अधिकांश युवालाई थाहा छ, वैदेशिक रोजगारीभित्रको कथा र व्यथा पनि । तर, त्यस्तो कथा र व्यथा थाहा हुँदाहुँदै पनि अन्तिम विकल्पको रूपमा त्यही वैदेशिक रोजगारीलाई रोज्न विवश छन् अधिकांश नेपाली युवा । खुकुरीको धारमा टेक्दा काट्छ अथवा आगोमा टेक्दा पोल्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यही खुकुरीको धारमा टेक्न अथवा त्यही आगोमा टेक्नुपर्ने नियति बोकेर बाँचेका छन् धेरै नेपाली युवा ।

देशको राजनीति र राज्य हाँक्ने शासकहरूले नेपाली जनतालाई यति धेरै निराशा नदिएको भए अनेक दुःखकष्ट सहेर रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता पनि रहरजस्तै हुने थिएन । देशको परिस्थितिलाई नियाल्दा रोजगारीका लागि बिदेसिनु बाध्यता हो, तर यो रहरजस्तै भएको छ नेपाली युवाका लागि । त्यसैले अधिकांश युवा हरेक रात विदेशको सपना सोचेर निदाउँछन् र हरेक बिहानी विदेशकै सपना सोचेर ब्युँझन्छन् । अनि पाइलापाइलामा विदेश जाने चक्करमा अनेक भुक्तमान पनि भोग्छन् । तैपनि विदेश जाने इच्छामा कुनै कमी आउँदैन । एक किसिमको उत्साह नै देखिन्छ बिदेसिन आतुर युवाको मनमा । त्यसैले रोजगारीका लागि बिदेसिनु बाध्यता भइकन पनि त्यो रहरजस्तै भएको छ । छोड्न र बिर्सनै नसकिने रहर । त्यसैले बढेको छ बिदेसिने युवाको लहर । हरेक पल, हरेक प्रहर ।

देशको राजनीति र राज्यले देशमै बसेर केही गर्न सकिन्छ र देशमै बसेर केही बन्न सकिन्छ भन्ने आशा, भरोसा र विश्वास जगाउन सकेको भए दैनिक औसत १ हजारभन्दा बढीको संख्यामा नेपाली युवा पक्कै बिदेसिने थिएनन् । देशको राजनीति र राज्यले युवाका बारेमा गम्भीर भएर सोच्दै सोचेन । युवाका रोजगारी, स्वरोजगारी वा उद्यमशीलताजस्ता आर्थिक क्रियाकलापमा न देशको राजनीतिले राज्यलाई घचघच्याउने केही काम गर्न सक्यो, न त राज्यले नै नीतिगत रूपमै रोजगारी, स्वरोजगारी र उद्यमशीलता विकासका लागि कुनै ठोस पहलकदमी गर्न सक्यो ।

देशको राजनीति सत्तामा केन्द्रित हुँदै आयो र राज्य पनि राजनीतिकै प्रभाव र दबाबमा चल्दै आयो । राज्यका अंग राजनीतिक दलका शक्तिशाली नेताहरूको इच्छा र इसारामा चल्दै आयो । जसले गर्दा जनताका माग र आवश्यकतालाई भन्दा नेता, कार्यकर्ता र तिनका आसेपासेको इच्छा र आकांक्षा राज्यको प्राथमिकतामा पर्दै आयो । जसले आमनेपाली जनतामा निराशा मात्रै जन्मायो । यो निराशाबाट सबैभन्दा बढी देशका ऊर्जाशील एवं महत्वाकांक्षी युवा प्रभावित हुन पुगे । बढ्दो युवा पलायन यही निराशाको परिणाम नै हो । देशमा पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने काममा राज्य गम्भीर बनेको भए बेरोजगारीको अवस्था कहालीलाग्दो बन्ने थिएन । अनि नेपाली युवाले केवल रोजगारीकै लागि ज्यानै दिनुपर्ने अवस्था पनि सिर्जना हुने थिएन ।

देशको राजनीतिले नेपाली युवामा बढेको निराशालाई न्यूनीकरण गर्न केही गरेजस्तो गर्छ, तर केही गर्न सक्दैन । राज्यले पनि त्यस्तै केही गर्न खोजेजस्तो गर्छ, तर केही गर्न सक्दैन । अस्थिर राजनीति तथा नीतिले गर्दा देशको आर्थिक क्रियाकलाप पनि उत्तिकै प्रभावित छ । बदलिरहने सरकार र नीतिहरूले गर्दा आर्थिक क्रियाकलापले नियमित गति लिन सकेको छैन । जसको प्रत्यक्ष असर रोजगारी सिर्जना, उत्पादन, उपभोग र गरिबी न्यूनीकरणमा परेको छ ।

रोजगारी सिर्जना नहुँदा बेरोजगार युवा कामको खोजीमा बिदेसिइरहेका छन् । जसको दूरगामी अर्थ–सामाजिक असर देश र जनताले भोग्नुपरिरहेको छ । ऊर्जाशील युवाको अभावमा यहाँको कृषिकर्म प्रभावित हुँदा कृषिप्रधान मुलुकमा कृषिवस्तुकै अभाव बढिरहेको छ । जसको परिणामस्वरूप बर्सेनि कृषिवस्तुको आयात बढिरहेको छ । उपभोक्ताले मूल्यवृद्धिको मार खेप्नुपरेको छ । रोजगारी र उत्पादन वृद्धि नहुनुको परिणामस्वरूप नेपाली जनताको आयशक्ति कमजोर हुन गई गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यसमेत प्रभावित बनिरहेको छ ।

रोजगारीको अभावले युवापुस्ता निराश बनिरहेको अवस्थामा देशमा सुशासनको अभाव समेत टड्कारो बनेको छ । भूसको आगोजस्तो सर्वत्र फैलिएको भ्रष्टाचारको जालोले आम नेपाली जनता हायलकायल भएका छन् भने देशको अर्थतन्त्र नै जर्जर अवस्थामा पुगेको छ । देशका नेता र सरकारको भनाइ तथा गराइमा देखिएको विपर्यास स्थितिले नेपाली जनतामा निराशा छाएको छ । विशेष गरी युवापुस्ता अझ बढी निराश छन् । यतिखेर यो निराशालाई चिर्ने र राज्यप्रति भरोसा जगाउने राष्ट्रिय नीति र कार्ययोजनाको खाँचो छ ।

पछिल्लो पटक पाँच दलीय नयाँ गठबन्धनको सरकारले आफ्नो ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मार्फत निराश नेपाली जनतामा केही आशा जगाउने प्रयास गरेको देखिन्छ । विद्यमान निराशा चिर्ने र भरोसा जगाउने अपेक्षा गरिएको यो न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने भनिएको छ ।

‘काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादन’ को नारा दिँदै रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिएको देखिन्छ । ज्याला रोजगारी र स्वरोजगार दुवै क्षेत्रमा कामको अवसर सिर्जना गर्ने गरी ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, स्वदेशको रोजगारीलाई आकर्षक र मर्यादित बनाउने, वैदेशिक रोजगारीलाई सुरक्षित र सीप सिक्ने (स्किल गेन) माध्यम बनाउने सरकारी नीतिले स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गर्नु सान्दर्भिक नै हुन्छ ।

रोजगारीको अवसर सिर्जनाकै लागि रोजगार बैंक, स्टार्टअप कोष र व्यवसाय तयारी केन्द्र (बिजनेस इन्क्युबेसन सेन्टर) को स्थापना गरी मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने, ‘गिग’ अर्थतन्त्रमा युवाहरूको पार्ट–टाइम आबद्धतालाई प्रोत्साहित गर्ने जस्ता सरकारी नीतिले निकट भविष्यमै रोजगारीको थप अवसर सिर्जना हुने देखिन्छ । यो सरकारको नीति र साझा संकल्पले देखाएको आशा हो । चिन्ता यति मात्रै हो कि यो साझा संकल्प निराश जनतालाई आशा देखाउनका लागि मात्रै हो वा साँच्चै केही गरेर देखाउनकै लागि हो ? केही गरेर देखाउनकै लागि हो भने अहिले गर्ने अवसर र वातावरण दुवै छ । यो अवसरको उपयोग गर्न सक्यो भने यो गठबन्धन सरकारको औचित्य पनि पुष्टि हुनेछ ।

सरकारले सधैँ नीति र कार्यक्रम मात्रै बनाउने, तर त्यसको कार्यान्वयनमा ध्यान नदिने पुरानै बानीले गर्दाचाहिँ अब पनि आशा गरिहाल्ने आधार देखिँदैन । सरकारको नीति र संकल्प आस गर्नु, भर नपर्नु भनेजस्तै हो । यद्यपि सरकारको यो न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको प्रभावकारी कार्यान्वयन हुन सक्यो भने गाउँघर नै युवाविहीन पारेर बिदेसिने युवाको ताँतीमा केही कमी आउने अपेक्षा भने गर्न सकिन्छ । त्यसैले यो साझा संकल्प पूरा हुनुपर्छ भन्ने आमनेपाली जनताको चाहना हो र माग पनि हो ।

प्रतिक्रिया दिनुहोस्