Logo

तीन वर्षमा ४० प्रतिशत घट्यो कृषि जनशक्ति

काठमाडौं– कृषि उत्पादनबाट मुलुकलाई समृद्ध बनाउने सरकारी नीति भए पनि यही क्षेत्रमा मजदुर अभाव देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणनाअनुसार यो क्षेत्रमा दक्ष मजदुरको अभाव छ ।

अध्ययन प्रतिवेदनअनुसार विवरण संकलन गरिएका वडामध्ये २ हजार ४ सय १७ (४० प्रतिशत) मा कृषि मजदुर पर्याप्त छैनन् । यो संख्या पछिल्ला तीन वर्षसँग तुलना गरेर निकालिएको हो । देशभरका वडामध्ये ६ हजार ३६ (करिब ९० प्रतिशत) मा वडाध्यक्ष वा सचिवमार्फत वडाको अभिलेख वा अनुभवजन्य र तथ्यगत धारणाका आधारमा सामुदायिक प्रश्नावली विधिबाट अध्ययन गरिएको हो ।

राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष तथा कृषि अभियन्ता उद्धव अधिकारीले व्यंग्य गर्दै भने, ‘कृषिमा कामदार घटेछन्, सरकारलाई बधाई छ । सरकारी लक्ष्यअनुसार नै घटेका हुन् । सरकारले विदेशमा श्रम बेचेर किसान घटाउने नीति लिएको छ । किसान घट्नु स्वाभाविकै हो ।’

कृषिको औद्योगिकरण नभएका कारण कृषि कामदारको अवधारणा नै नभएको उनको भनाइ छ । अधिकारीले थपे, ‘तथ्यांक कार्यालयले कुन विधिबाट अध्ययन गरेको हो ? कृषिमा कामदार भनेका नै किसान हुन् । नेपालमा धेरैले कृषि कर्म गरेर नै खाइरहेका छन् । कृषिमा कामदार नै भन्ने हो भने करिब ०.५ प्रतिशत होलान् । अरु सबै किसान नै हुन् । सरकारी निकायले सार्वजनिक गर्ने तथ्यांकमा नै शंका गर्नुपर्ने अवस्था आयो ।’ कार्यालयले राष्ट्रिय जनगणा २०७८ मा किसान परिवार तीन लाख बढेको देखाएको बताउँदै उनले अहिले कसरी किसानको संख्या घट्यो भनेर प्रश्न गरे ।

कार्यालयको प्रतिवेदनअनुसार मधेश प्रदेशमा कृषि कामदारको अभाव भएका वडाको संख्या सबैभन्दा बढी पाइएको छ । यसैगरी कृषि कामदारको सबैभन्दा कम अभाव कर्णालीमा छ । कर्णाली प्रदेशमा गणना गरिएका वडामध्ये ८३ (१३ प्रतिशत) मा मात्र कृषि कामदारको अभाव पाइएको छ । यसैगरी कोशी प्रदेशका ४ सय ८५, बागमतीका ३ सय ९७, गण्डकीका ३ सय ५, लुम्बिनीका ३ सय ३७ र सुदूरपश्चिम प्रदेशका ९७ वडामा कृषि कामदारको अभाव छ । कृषि कामदारको औषत दैनिक ज्याला ५ सय २१ रुपैयाँ रहेको पाएको छ ।

यसैगरी कृषि कामदारको औषत दैनिक ज्याला सम्बन्धित वडाबाट उपलब्ध सामुदायिक विवरणका आधारमा विश्लेषण गर्दा महिला र पुरुषको दैनिक औषत ५ सय ३१ र ६ सय ६५ रुपैयाँ रहेको पाइएको छ । प्रदेशगत रुपमा तुलना गर्दा महिला र पुरुष दुवै प्रकारका कृषि कामदारको दैनिक औषत ज्याला दर सबैभन्दा बढी ६ सय ५ रुपैयाँ र ८ सय १० रुपैयाँ दिने गरेको अध्ययनले देखाएको छ । यस्तै बागमती प्रदेशमा सबैभन्दा कम ४ सय ७७ रुपैयाँ र मधेशमा ५ सय ५७ रुपैयाँ रहेको छ ।

कोशी प्रदेशमा यस्तो ज्याला दर ४ सय ८८ र ६ सय ८ रुपैयाँ, बागमतीमा ६ सय ५ र ८ सय १०, गण्डकीमा ५ सय ५० र ८ सय ८ रुपैयाँ छ । यसैगरी लुम्बिनी प्रदेशमा कृषिमा काम गर्ने कामदारको दैनिक ज्याला ५ सय ११ र ६ सय २१ रुपैयाँ तथा सुदूरपश्चिम प्रदेशमा ५ सय ३८ र ६ सय १ रुपैयाँ पाइएको छ । यो अध्ययनले पुरुष र महिलाका बीच ज्याला दरमा धेरै असमानता देखिएको छ । पुरुषलाई बढी र महिलालाई कम ज्याला दिने गरेको पाइएको छ । सबैभन्दा बढी पुरुष र महिलाबीच ज्यालामा असमानता गण्डकी र सुदूरपश्चिम प्रदेशमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्