Logo

५३ महिनामा छिचोलियो नागढुंगा सुरुङ, गाडी चल्न अझै एक वर्ष लाग्ने

धादिङ– नेपालको पहिलो सडक सुरुङ सिस्नेखोला–नागढुंगा छिचोलिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेर मुख्य सुरुङ ‘ब्रेकथ्रु’ गरेका हुन् ।

देशमा मेलम्ची खानेपानीको सहित जलविद्युत आयोजनाका थुप्रै सुरुङ भए पनि सार्वजनिक सवारीसाधन चल्ने यो पहिलो सुरुङ हो । सुरुङ छिचोलिए पनि यसबाट तत्काल सवारीसाधन चल्न भने पाउनेछैनन् । सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायत कामका लागि अझै केही समय लाग्नेछ ।

यसैगरी कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, आकस्मिक उद्धार कक्ष निर्माण, तापक्रम मिलाउने काम पनि बाँकी नै छ । ‘सुरुङ छेड्दैमा प्रयोगमा ल्याउन सकिँदैन । प्रयोगमा आउन अझै एक वर्ष लाग्छ,’ आयोजनाका परामर्शदाता रमेश कोइरालाले भने । नेपालमा सुरुङमार्ग सञ्चालन गर्ने प्राविधिक जनशक्ति छैन । केही समय जापानलाई सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको आयोजनाले बताएको छ ।

अब सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । बलम्बुतर्फ फ्लाइओभर निर्माण धमाधम भइरहेको छ । तीनवटा पुल र ६ वटा कल्भर्ट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३ किमी दुई लेन सडक कालोपत्र हुँदैछ । धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा सुरुङको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र काम सक्ने गरी यसको शिलान्यास भएको थियो । कोभिड र बेलाबेला हुने स्थानीयको अवरोधले गर्दा समयमा काम नसकिएको आयोजनाले जनाएको छ । सुरुङ सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । सीसी क्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ ।

मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपतकालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । आपतकालीन सुरुङ गत साउन २२ मा ‘ब्रेकथ्रु’ भइसकेको छ । यसको अहिले फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेपछि काम रोकिएको थियो ।

‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएर सुरुङ निर्माण गरिएको हो । मुख्य सुरुङबाट आपतकालीन सुरुङमा जाने सातवटा द्वार निर्माण गरिएको छ । सुरुङभित्र केही घटना भएमा मुख्य सुरुङबाट छिटो निस्कन आपतकालीन सुरुङ निर्माण गरिएको छ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ ।

यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुको सम्झौताअनुसार आयोजनाको समय २०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । यो समयभित्र काम नसकिने भएकाले फेरि एक वर्ष समय थप्ने तयारी भएको सडक विभागले बताएको छ ।

ठेक्का प्राप्त गरेपछि जापानी निर्माण कम्पनीले पुस २०७७ देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको तीन वर्षपछि छेडिएको मुख्य सुरुङको चौडाइ ९.५ मिटर र उचाइ ८.३ मिटर रहेको छ । यस सुरुङमा दुई लेन सडक हुनेछ । आकस्मिक सुरुङको चौडाइ ४.५ मिटर रहेको छ ।

यसमा एक लेन सडक हुनेछ । मुख्य सुरुङमा मात्रै सवारीसाधन आवतजावत गर्नेछन् । मुख्य सुरुङमा दुर्घटना भएमा उद्धार गर्नका लागि आकस्मिक सुरुङ निर्माण गरिएको हो, जहाँ सुरक्षाकर्मीका गाडी, एम्बुलेन्स, वारुण यन्त्रजस्ता सवारीसाधन जान पाउनेछन् । मुख्य सुरुङबाट आकस्मिक सुरुङमा जानका लागि सातवटा बाइपास बनाइएको छ । सुरुङमार्ग प्रगोग गरे प्रायोग गरेबापत निर्धारित शुल्क तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्