स्नो याकलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १७औँ वर्ष पुरा गरी १८औँ वर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो सत्रौं वार्षिकोत्सव यही वैशाख ७ गते मनाउदै छ । विशेष गरी विपन्न परिवारमा जन्मेका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बीच रू १ लाखको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको हो ।
बालबालिकाहरुको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नो याक फाउन्डेसनले विगत एक दशक भन्दाबढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको र उक्त रकम पनि बालबालिकाको शिक्षामा खर्च गर्ने कुरा संस्थाका सञ्चालकले जानकारी दिए । हाल फाउन्डेसनले ५ सय बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।