Logo

आईपीओ ल्याउँदै प्रभु केवलकार

काठमाडौं- प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले सार्वजनिक सेयर निष्कासन गर्ने कार्य गर्न बिक्री प्रबन्धक छनौट गर्ने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गरेको छ । कम्पनीले देशको तीनवटा भू–भागमा केवलकार निर्माण गरिरहेको छ । कम्पनीको लगानी रहेको बुटवलको देउराली डाँडा मणिमुकुन्द सेन फूलबारी पार्क हुँदै पाल्पा जाने सिद्धार्थ केवलकार भने अब पूर्ण क्षमतामा सञ्चालनको तयारीमा छ ।

सिद्धार्थ केवलकारको पहिलो चरणको सञ्चालन नयाँ वर्ष वैशाख १ गते नै गरि सकिएको छ । भगवान गौतम बुद्धको जन्म स्थान लुम्बिनीको दर्शन गर्न आउने विभिन्न बुद्ध धर्ममान्ने राष्ट्रका नागरिकलाई विशेष छुट दिई भगवान बुद्धका कुल गुरु महर्षि कालदेवलको आश्रममा लगिने कम्पनीको योजना रहेको छ ।

यो केवलकारबाट बुद्धधर्मावलम्वीहरु एवं लुम्बिनी भ्रमणमा आउने अनेकौं राष्ट्रका पर्यटकहरुले भ्रमण गरि पाल्पाको नुवाकोट स्थित विश्वकै पुरानो कामना भैरबको दर्शन गर्ने र नुवाकोट गढीस्थित पुरा तात्विक सम्पदाहरुको अवलोकन समेत गर्नेछन् । यस केवलकारमा पच्चिसवटा गोण्डलाहरु रहेका छन् ।

उक्त गोण्डलाबाट प्रतिघण्टा ५ सय यात्राको ओसारपसार गर्न मिल्दछ, यस केवलकारको दुरी २ किलो मिटर रहेको छ । प्रभु केवलकारले अरु दुईवटा परियोजना निर्माणको लागी जग्गा खरिद गरिरहेको जनाएको छ । रामेछाप जिल्लाको खाँडादेवी मन्दिर र सिन्धुलीको सिद्धबाबा मन्दिरमा जाने दर्शनार्थीलाई लक्षित गरि केवलकार निर्माण गर्नेकाम भई रहेको कम्पनीका अध्यक्ष भोजकुमार खड्काले जानकारी दिए ।

प्रभु केवलकार कम्पनीको अधिकृत एवं जारी पूँजी १ अर्ब रहेको छ । कम्पनीको हाल चक्ता पूँजी ७० करोड रहेकाले चुक्ता पूँजी १ अर्ब पुर्‍याउन यस कम्पनीले रु ३० करोड बराबरको आईपीओ निष्कासन गर्न लागेको छ । उक्त आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । यस कम्पनीमा प्रभु ग्रुप अन्तर्गतका ५ वटा कम्पनीहरुको लगानी रहेको छ ।

जसमा प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड, प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु जलविद्युत विकास लिमिटेड को रहेको छ । यस ग्रुपले विभिन्न क्षेत्रमा लगानी बढाई रहेको छ । शिलबन्दी बोलपत्रमा सहभागी हुन बिक्री प्रबन्धक बन्न इच्छुक कम्पनीहरुले ४५ कार्य दिनभित्र निवेदन दिइ सक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्