Logo

‘सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँग सम्बन्ध बिग्रियो’

काठमाडौं- सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन् ।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका हुन् । उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गइ पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह सुरु हुन थालेको बताए ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडितले विदेशबाट आफ्ना भाईले पठाएको रकम सहकारीमा जग्गा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताए । उनले भाईले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको बताए । उनले आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाउँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले सरकारले गरिब जनताको दुःख नसुनेको आरोप लगाए । गरिब दुःखीको सुनुवाई कहिले हुन्छ ? भन्ने उनीहरुको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्