Logo

पछिल्ला आर्थिक परिसूचकले समृद्धिमा गुणात्मक आशा

छिचोलियो नागढुङ्गा सुरुङमार्ग

काठमाडौं- नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सुरुङ छिचोल्नका लागि स्वीच थिचेका छन् । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो ।

धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै संघीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो ।

नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । सोमबार छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो ।

सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपतकालीनरुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ । सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

यस्तै, प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताए । उक्त आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको नयाँ समीकरणपछि राजस्व संकलनले आर्थिक सुधारको लय समातेको बताए ।

“आयातित इन्धन घटाउँदै विद्युतीय सवारीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टीलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा भएको वृद्धि, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ”, प्रधानमन्त्रीले भने ।

उनले भारतलगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौंको आइटी सेवा निर्यात, स्टार्टअपमा प्रगतिलगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएको उल्लेख गरे ।

उनले ‘केही हुँदैन’ भन्ने निराशाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न अपील गरे । यही वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा आगामी सम्मेलनले जोड्ने विश्वास व्यक्त गरे ।

लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत सुधारका कामहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई प्रोत्साहन र आकर्षित गर्न आवश्यक रणनीतिका साथ अघि बढ्ने सरकारको तयारी रहेको बताए । नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरिएको बताउँदै उनले सुरूङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्