विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति

तनहुँ- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् ।
विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रममा उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए ।
“यसका लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकाङ्क्षाबमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य छ”, राष्ट्रपति पौडेलले भने ।
सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुरडाँडामा ऐतिहासिक सम्पदा र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी, संरक्षण र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गरे । इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व बोकेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमा गौरवपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।
उनले मुलुकका राजनीतिक परिवर्तनका लागि २००७ सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाउँबाट गरिएको स्मरण गरे । त्यतिखेर बन्दीपुरमा भएको संघर्षमा राणा फौजको गोली लागेर छ सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर रानामगर, चन्द्रबहादुर सार्की (नेपाली) र खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए ।
विसं २०१८ मा धेरै सहिद भएमध्ये बुद्धसिंह रानामगर यसै क्षेत्रको भएको उनले उल्लेख गरे । आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन संघर्षका दिनमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात् सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसद्मा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमासमेत योगदान दिने अवसर प्राप्त भएको उनले स्मरण गरे ।
सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द्र मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको बौद्धिक केन्द्रसमेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशीनगरी (भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ । त्यही शैक्षिक एंव विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो ।
यसैलाई उजागर गर्दै चुँदी–रम्घामा भानु साहित्य उद्यानको बृहत योजना प्रारभ गरिएको तथा दमौलीमा वेदव्यासको एक सय आठ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भइरहेको, पर्यटकीय नगरी बन्दिपुर र तनहुँसुरमा सहिद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उनले बताए ।
उनले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले ‘भानुप्राणी उद्यान’ योजनासमेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्वयन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रुप लिने नै छ भन्ने विश्वास व्यक्त गरे । देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत् योजना हाम्रो धेरै प्रयासपश्चात् आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उनले अर्को योजना तल्लो सेती जलविद्युत् परियोजना प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गरे ।