Logo

निर्माणको अन्तिम चरणमा चुकेनी जलविद्युत आयोजना

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी जलविद्युत आयोजना चार वर्षपछि अन्तिम चरणमा पुगेको छ । १८ महिनामै सकिनुपर्ने आयोजना करिब चार वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको हो । करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजना झण्डै ४३ करोड लगानीमा निर्माण भएको हो । चुकेनी जलविद्युत आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो ।

उक्त सम्झौताको मितिबाट १८ महिनामै सकिनु पर्ने थियो । तर म्याद थप गर्दै निर्माण गरे पनि आयोजना निर्माणले गति लिन नसक्दा आलोचना भएको थियो । चुकेनी जलविद्युत आयोजनाको कुल लागत ४३ करोड रहेको छ । जसमा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ भने १३ करोड पालिका र स्थानीय जनताको लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घर जग्गाको लालपुर्जा धरौटी राखेर ६ करोड बराबरको सेयर लगानी गरेका छन् ।

बत्ती बल्ने भन्दै विभिन्न भाका तोकिए पनि निर्माण पक्ष असफल हुँदै आएकोमा बल्लबल्ल बत्ती बाल्ने अन्तिम तयारी भइरहेको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीले आक्रोसित बनेका जुम्लाबासी चाँडै चुकेनीको बत्ती बल्ले खबरले उत्साहित भएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत १८ महिनामा सकिनुपर्ने आयोजना करिब चार वर्षपछि अन्तिम चरणमा पुगेर बत्ती बल्ने कुराले खुसी भएको बताउँछन् । ढिलै भए पनि आयोजना निर्माण भयो ।

उनले भने, ‘चुकेनी विद्युत आयोजना अन्य आयोजना जस्तो अलपत्र भएन । सम्झौता मितिभन्दा ढिलै निर्माण भए पनि जुम्लाको बत्ती अभावको समस्या टर्ने भयो । उद्योगी व्यापारी तथा उपभोक्ताले राहत पाउने आशा छ ।’ पटकपटक बत्ती बल्ने भाका तोकिए पनि अससफल भएकाले अन्तिम अब नागरिकको प्रतीक्षा पूरा हुने उनको भनाइ छ ।

विद्युतको लाइन परीक्षण सुरु
चुकेनी जलविद्युत आयोजनाबाट उत्पादन भएको बत्तीको लाइन परीक्षण सुरु गरिएको छ । चार वर्षपछि अन्तिम चरणमा पुगेको उक्त आयोजनाले पातारासी गाउँपालिकाका सातवटै वडा र जुम्ला सदरमुकाम क्षेत्रमा लाइन विस्तार गर्न लागेको हो ।
आइतबार एक सूचना जारी गर्दै चुकेनीखोला विद्युत सहकारी संस्थाले पावरहाउसमा बत्ती बलिसकेको र विद्युतको लाइन विस्तार बत्ती परीक्षणको काम भइरहेको जनाएको छ ।

विद्युतको तार तथा पोल जडान भएका क्षेत्रमा विद्युत परीक्षण सुरु भएकोले अर्को सूचना नहुन्जेलसम्म पोल तथा तार नचलाउन, नछुन र सावधानी अपाउन आयोजनाले सर्वसाधारणलाई अपिल गरेको छ । पातारासी गाउँपालिका–१ देखि ७ सम्म पोल तथा तार जडान भएका क्षेत्र, चन्दननाथ नगरपालिकाको ठिन्केदेखि घुघुतीसम्मका लाइनका तार तथा पोल र चुकेनी खोलादेखि, लासी उर्थु हुँदै जुम्ला बजारको मुख्य लाइनका तार पोल परीक्षण अवधिभर नछुन आग्रह गरेको छ ।

ढिलोमा अबको एक महिनाभित्र सबै घरघरमा बत्ती बाल्ने गरी विद्युत आयोजनाको लाइन परीक्षण भइरहेको छ । पातारासीका स्थानीय बुद्धि एैडी भन्छन्, ‘आयोजना कहिले बन्ला भनेर दिन गन्दै बसेका स्थानीयका लागि ढिलै भए पनि चुकेनी आयोजनाले खुसीको खबर दिएको छ । विभिन्न समयको भाका पूरा नभए पनि पावर हाउसमा बत्ती बलेर लाइन नै परीक्षण सुरु भएपछि चाँडै गाउँघर झिलीमिली हुने आशामा स्थानीय छन् ।’

चुकेनी जलविद्युत आयोजना निर्माणको ठेक्का फेवा कन्स्ट्रक्सन प्रालि पोखराले लिए पनि स्थानीयस्तरमा मेगाहाइड्रो एण्ड इन्जिनियरिङमार्फत काम गरिरहेको छ । मेघाका प्रबन्धक चन्द्र भण्डारीले कोरोना तथा केही प्राविधिक समस्याले सम्झौता भन्दा ढिला भए पनि डिजाइन स्टिमेटअनुसार काम भएको बताए । लाइन परीक्षण सकेर उद्घाटन गरी आयोजना हस्तान्तरण गर्ने तयारी भएको उनको भनाइ छ ।

ठेकेदार चन्द्र भण्डारी भन्छन्, ‘फाइनल जडान गरेर परीक्षण गर्ने काममात्रै बाँकी छ । त्यसका लागि भारतीय टोली आउन बाँकी छ । छिटोभन्दा छिटो बत्ती बाल्ने तयारी भइरहेको छ । भौतिक रूपमा सबै काम सम्पन्न भइसकेको छ ।’ आयोजनाबाट तीन हजार ४५३ घरपरिवार लाभान्वित हुने भने पनि नेसनल ग्रिडसँग जडान गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । भुक्तानी पाउन बाँकी रहेकाले पनि कामअघि बढाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्