Logo

सौराहा पर्यटकले भरियो

होटल अकुपेन्सी शतप्रतिशत

चितवन– चितवनको पर्यटकीय क्षेत्र सौराह नयाँ वर्ष मनाउन आएका स्वदेशी पर्यटकले भरिएको छ । कोरोनापछि पहिलो पटक होटल तथा रेष्टुराँमा शतप्रतिशत अकुपेन्सी भएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए । जसका कारण सौराहा पुरानै लयमा फर्किनेमा व्यवसायीहरू आशावादी देखिएका हुन् । सौराहामा दुई दिनमा झण्डै १५ हजार बढी पर्यटकहरू भित्रिएकोमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य पर्यटक रहेको गिरीले जानकारी दिए ।

सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बसेका थिए । पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न यो पटक बृहत् सांस्कृतिक कार्यक्रम रेवान सौराहासहितका होटलहरूले अलग्गै गरेका थिए । नयाँ वर्षसँगै पर्यटन प्रवर्द्धनात्मक कार्यक्रममा विभिन्न संघसंस्थाहरूले समेत सहकार्य गरेको रेवानका महासचिव नवीन नेपालले जानकारी दिए । नयाँ वर्ष मनाउन सौराहा भित्रिएका पर्यटकको संख्याले उत्साहित बनाएको भन्दै उनले पर्यटकको आतिथ्यताको लागि व्यवस्थापनलाई प्रभावकारी बनाएको बताए ।

रेवान सौराहाका अध्यक्ष धुव्र गिरीले नयाँ वर्ष मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले सौराहाका सबै होटल र रेष्टुरेन्ट भरिएको बताए । अंग्रेजी नयाँ बर्षमा भन्दा नेपाली नयाँ वर्षमा पर्यटक बढी रहेको उनको भनाइ छ । अहिले सौराहामा विदेशी पर्यटकको संख्या पनि उलेख्य रहेको छ । नयाँ वर्ष मनाउन परिवारसहित सौराहा आउने पर्यटकको संख्या बढी रहेको व्यवसायीहरूले बताएका छन् । ‘यतिबेला दैनिक पाँच सय चिनियाँ पर्यटक सौराहा घुम्न आएका छन्, भारतीय र युरोपका देशबाट आउने पर्यटकको संख्या पनि उत्तिकै छ’, गिरीले भने । तीन महिनायता चिनियाँ पर्यटकको संख्या उल्लेख्य रहेको उनले बताए ।

नयाँ वर्षले सौराहाको पर्यटन व्यवसाय पुरानै लयमा फर्केको अनुभूति भएको संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईले बताए । उनले पछिल्लो तीन महिनामा पर्यटकको आवागमन उल्लेख्य रहेको भन्दै नयाँ वर्षमा झन धेरै पर्यटक आउने अपेक्षा गरिएको बताए । सौराहामा मात्र साना–ठूला गरी १३० होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक २ हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । ७० भन्दा बढी रेस्टुराँ र एक सय साना पर्यटन व्यवसाय सञ्चालित छ । यहाँ वार्षिक दुई लाख हाराहारी पर्यटक आउँछन् ।

भरतपुर भ्रमण वर्षले माहौल
सन् २०२४ भरतपुर महानगरपालिकाका लागि उत्सवै उत्सवको वर्ष बनेको छ । भ्रमण वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन् । भ्रमण वर्षको अवसरमा रैथाने फुड फेष्टिवल, पशुपन्छी तथा औषधि व्यवसायी संघको केन्द्रीय महाधिवेशन, होटल व्यवसायी संघको केन्द्रीय बैठक, साइकल जंगल राइड, साइकल र्‍याली, म्याराथन, लायन्स क्लब ३२५ आरको अधिवेशन, फर्म एक्स्पो भएका छन् ।

यस्तै वन्यजन्तु उद्धार केन्द्र उद्घाटन, गडियाल गोहीलाई प्राकृतिक बासस्थानमा स्थान्तरण, पर्यटन तथा होटल व्यवसायी प्रतिष्ठान (नाथम)द्धारा अन्तक्र्रिया कार्यक्रम, महिला उद्यमी कृषि प्रर्दशनी, आदिवासी जनजाति महोत्सव तथा व्यपार मेला, अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता, विशेष सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष उत्सवलगायतका कार्यक्रम भइसकेका छन् । भरतपुर भ्रमण वर्षको अवसरमा महानगरको कार्यपालिका बैठकबाट विभिन्न ५१ वटा कार्यक्रमहरू तय भएका छन् ।

जसमा भ्रमण वर्षको उद्घाटन तथा समापन कार्यक्रम, मेला महोत्सव तथा प्रर्दशनी, सेमिनार तथा गोष्ठी, पर्यापर्यटनका कार्यक्रम, र्‍याली, म्याराथन, खेलकुद, साहित्यिक कार्यक्रम, राष्ट्रिय अधिवेशन, राष्ट्रिय सम्मेलन, धार्मिक पर्यटनका कार्यक्रम रहेका छन् । फुड फेष्टिवल तथा मेला महोत्सवहरूमा विषेश सांस्कृति कार्यक्रम पनि समावेश गरेकाले भ्रमण वर्ष थप उत्सवमय देखिने पर्यटन विज्ञ सुवेदीले बताए । भरतपुरका होटलहरू भरिभराउ हुनुले यहाँको पर्यटन गतिविधि पनि बढ्दै गएको संकेत देखिएको छ ।

कोरनाकालपछि पहिलो पटक यहाँका होटल भरिभराउ भएको व्यवसायीहरू बताउँछन् । स्वदेश तथा विदेशबाट भरतपुर घुम्न जानुपर्छ भन्ने लहर पनि देखिएको छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्षको अवसरमा मन्त्रिपरिषद् बैठक भरतपुरमा बसाउनको लागि पत्राचार गरिएको छ । यसैबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, धर्मगुरु पनि भरतपुरमा आउने कार्यक्रम छ । महानगरपालिकाले विदेशी पर्यटकलाई भरतपुर भित्र्याउने लक्ष्यसहित राजदूतहरूको सम्मेलन पनि गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्