सिटिजनन्स बैंकद्वारा गाउँ–गाउँमा डिम्याट खाता

सिटिजनन्स बैंक इन्टरनेसनलले गाउँ–गाउँ पुगेर बैंक खाता र डिम्याट खाता खोल्न थालेको छ । बैंकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर प्रयोजनका लागि भन्दै दोलखाका गाउँ–गाउँमा पुगेर बैंक खाता खोल्न थालेको हो ।
एक हप्तादेखि बैंकले साविक सुस्पाक्षमावती गाविसमा बैंक खाता र सेयर प्रयोजनका लागि डिम्याट खाता पनि खोलिरहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल चरिकोट शाखाका प्रबन्धक रवीन्द्र न्यौपानेले सेयर भर्नका लागि बैंक खाता र डिम्याट खाला दुवै चाहिने हुनाले अहिले बैंकले शिविरै चलाएर यस्तो अभियान सुरु गरेको बताए । एक हप्तामा २ हजार बढी बैंक र डिम्याट खाता खोलिसकेको उनले जानकारी दिए ।
“सेयर खुलेपछि बैंकमा खाता खोल्ने र सेयर भर्नेहरूको भीड नै लाग्छ,” उनले भने, “अप्पर तामाकोसीले बैंक खाता मात्र भए हुने डिम्याट ऐच्छिक गरे तापनि पछि लगानीकर्तालाई काठमाडौंमै पुगेर डिम्याट गराउँदा झन्झट होला भनेर हामीले अहिले नै अभियान चलाएका हौं ।” सुस्पाबाट सुरु भएको अभियान कालिञ्चोक गाउँपालिकाका–७, ८ र ९ (सुन्द्रावती र सुनखानी) सम्म पुग्ने बताए ।
बैंकले सीबीआएल क्यापिटमार्फत डिम्याट खाता खोलेको छ । बैंकले शिविरका लागि गाउँमा बैंक खाता र डिम्याट खाताका लागि फाराम लिएर कर्मचारीहरू गाउँ पुग्छन् । फाराम भरेर पुन चरिकोट शाखामा कर्मचारीहरू फर्कन्छन् । बैंकमा आएर दुवै खाता खोलेर पछि ग्राहकहरूलाई खाता नम्बर दिने उनले बताए ।
दुवै खाता खोल्ने काम माथिल्लो तामाकोसीका सेयर आह्वान नहुँदासम्म जारी रहने बैंकले जनाएको छ । बैंक खातामा न्यूनतम ५ सय रहने गरी खाता खोलेको उनले बताए । ५ सयले डिम्याट खाताको छुट्टै रकम ग्राहकसँग नलिएको बताए । बैंक नजिक नहुनेहरूका लागि मोबाइल बैंकिङमार्फत कारोबार गर्न सकिने उनले बताए । बैंकले कार्यालयमै आउने सबै ग्राहकहरूलाई समेत डिम्याट खाता खोल्न अनुरोध गर्दै आएको बताए ।
दोलखावासीका लागि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर जारी हुँदैछ । धितोपत्र बोर्डले अनुमति दिने वित्तिकै सेयर जारी हुन्छ । सेयर खरिद बिक्रीका लागि डिम्याट खाता अनिवार्य भएपछि दोलखामा अन्य बैंकहरूले पनि डिम्याट खाता खोलाउन थालेका छन् ।