बाघखोर बजारमा सिसी क्यामेरा जडान

दोलखा– दोलखाको शैलुङ गाउँपालिका केन्द्र बागखोर बजारमा सिसी क्यामेरा जडान भएको छ । बाघखोर शैलुङ गाउँपालिकाको मुख्य बजार क्षेत्र हो । पर्यटकीय क्षेत्र शैलुङ जाने पनि मुख्य प्रवेशद्वार यही बजार हो । बजार क्षेत्रको सुरक्षालाई ध्यान दिएर सिसी क्यामेरा जडान गरेको हो ।
शैलुङ गाउँपालिका र स्थानीय प्रहरीसँगको समन्वयमा एसएस फाउण्डेसनले क्यामेरा जडान गरेको हो । बजार क्षेत्रका विभिन्न नाका र बजारमा निगरानीका लागि ६ वटा क्यामेरा जडान भएको छ । क्यामेराको मनिटर इलाका प्रहरी कार्यालय बाघखोरमा राखिएको छ । प्रहरीले त्यसको निरन्तर निगरानी र रेकर्ड राख्ने गर्छ ।
शैलुङ क्षेत्रमा आपराधिक घटना बढेको गुनासोपछि सिसी क्यामेरा राख्न सहयोग गरेको एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेतीले जानकारी दिए । एक वर्षअघि पनि शैलुङ गाउँपालिका–८ मा रहेको भैंसे बजारमा एसएस फाउण्डेसनले सिसी क्यामेरा जडान गरेको थियो । त्यसको पनि मनिटर प्रहरी चौकी भैंसेमा नै छ । भैसेमा सिसी क्यामेरा जडानपछि आपराधिक घटना कम भएको प्रहरीको भनाइ छ ।
पछिल्लो समय शैलुङ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकलाई सुरक्षित महसुस गराउन सुरक्षा व्यवस्था चुस्त व्यवस्थित बनाउनु पर्छ । शैलुङ क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन पनि सिसी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताए । सिसी क्यामेरा जडानले बजारमा व्यवसाय गर्न पनि ढुक्क भएको बजार व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।