उपभोक्ता समिति गठन नहुँदा पुलकाे पहुँच अझै अलपत्र

भैरहवा– मर्चवारमा राजनैतिक कारणले उपभोक्ता समिति गठन हुन नसक्दा त्यहाँ निर्माण भएको झोलुंगे पुलमा जाने पहुँचमार्ग बन्न सकेको छैन । मर्चवारको कोटहीमाईको तिनाउखोलामा दुई वडा ५ र २ जोडन झोलुंगे पुल निर्माण भए पनि पुलमा जाने दुवैतर्फ पहुँच सडक नभएकाले गाउँपालिकाले पहुँचमार्ग निर्माणका लागि पक्रिया अगाडि बढाए पनि अझै निर्माण हुन सकेको छैन ।
पुरानो उपभोक्ता समितिले रकम अपुग भनेर काम त्यागेपछि पुनः निर्माणका लागि ठेक्का प्रणालीमा गएकोमा ठेक्का लागेका र वैकल्पिक नाम रहेकासमेत निर्माणमा जान सकेनन् । पुरानो उपभोक्ता समितिको दबाबले ठेक्का पारेका निर्माण कम्पनीसमेत सम्झौता गर्न नगएको स्थानीयको भनाइ छ । कोटहीमाई गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले पुलको र्याम्प (पहुँच बाटो) निर्माणका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गत फागुन ३ गते गाउँपालिकाले त्यसका लागि बोलकबोल प्रथाबाट निर्माण कम्पनीलाई आह्वान गरेकोमा निर्माणकार्यका लागि आवेदन भरेकामध्ये ब्लुबर्ड र सीएण्डसी निर्माण कम्पनी छनोट भएका थिए । ‘तर, दुवै कम्पनी सम्झौता गर्न आएनन्,’ भण्डारीले भने । ब्लु बर्ड नआए पछि सीएण्डसी कम्पनीलाई सम्झौताको लागि बोलाइएकोमा उक्त कम्पनी पनि आएन । सम्झौता गर्न नआउँदा गाउँपालिकाले चाहेर पनि काम हुन नसकेको शाखा प्रमुख भण्डारीले बताए ।
उनीहरू नआएपछि गत चैत ६ गते बसेको गाउँ कार्यपालिका बैठकले उपभोक्ता समिति गठन गरेर काम अगाडि बढाउने निर्णय गरेकोमा अहिलेसम्म उपभोक्ता समिति गठन हुन सकेको छैन । उपभोक्ता समिति गठन नहुँदा काममा ढिलाइ भइरहेको छ । शाखा प्रमुख भण्डारीका अनुसार पहिलोपटक पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरेर २०७७ माघ २७ गते तीन महिनामा काम पूरा गर्नेगरी कार्यादेश दिइएकोमा उक्त अवधिमा काम पूरा नभएपछि २०७८ वैशाख २३ गते ६ महिनाका लागि म्याद थप गरिएको थियो ।
थप गरिएको समयमा पनि काम हुन सकेन । त्यसपछि २०७८ कात्तिक २६ गते पुनः ६ महिनाका लागि म्याद थप गरिएको थियो । यसबीचमा कोरोना महामारी फैलिएपछि निर्माणको काम प्रभावित हुन पुग्यो । त्यसपछि गाउँसभाको निर्णयबाट २०७९ कात्तिक ३० गते अन्तिमपटक आठ महिनाका लागि म्याद थप गरिएको थियो । उक्त अवधिमा पुल निर्माण पूरा भए पनि आर्थिक अभाव र निर्माण सामग्री महँगिएको जनाउँदै बेनिनगर झोलुंगे पुल निर्माण उपभोक्ता समितिले दुवैतर्फ र्याम्प तयार गरेन ।
जसले गर्दा पुल अहिलेसम्म अधुरो छ । हिउँदमा खोलामा पानी कम हुँदा खोलाबाटै स्थानीय वारपार गर्छन् भने वर्षा र अन्य समयमा बाँसको सिढी बनाएर स्थानीयले राखेका छन् । गाउँपालिकाका अनुसार अहिलेसम्म पुल निर्माणका लागि ८० लाख ८१ रुपैयाँ खर्च भइसकेको छ । लुम्बिनी एकीकृत विकास संस्था (लिडो) को परामर्शमा निर्माण गरिएको पुलको लठ्ठा र पुलको नट कस्ने कामका लागि झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत ६ लाख ३९ हजार रुपैयाँको सहयोग मिलेको थियो ।
गाउँपालिकाले स्टिलको काम गर्न २५ लाख ५२ हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये २४ लाख ४० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । गाउँपालिकाले लेवर र पाइलिङका लागि पालिकाले ४२ लाख रुपैयाँ छुट्याएकोमा त्यसमध्ये ३६ लाख रुपैयाँ भुक्तानी भइसकेको इन्जिनियर भण्डारीले बताए । पुल निर्माणको परामर्शदाताका लागि चार लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएकोमा लिडोले दुई लाख ९५ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ ।
‘निर्माण सम्झौतामा र्याम्प निर्माण गर्ने उल्लेख छ,’ भण्डारीले भने, ‘उपभोक्ता समितिले पुरानै दररेटमा काम गर्न नसक्ने निवेदन दिएपछि अहिलेसम्म झोलुंगे पुल अधुरो छ । पुल अधुरो हुँदा पुलको दुवै किनारमा ओहोर/दोहोरका लागि बाँसको सिढी बनाई स्थानीय जेखिम मोलर हिँडिरहेका छन् ।’ अहिले कोटहीमाई–५ तर्फ पुलको किनारामा बनाइएको बासँको सिंढी पनि भाँचिएको छ ।
उक्त सिंढीबाट चढन झर्न सास्ती भएको कोटहीमाई–२, का रामजित मौर्यले बताए । ‘स्कुल जाँदा साइकलमा जानुपर्छ । कति जोखिम छ आफैले देख्नु भयो नि,’ मझगावास्थित पब्लिक भिजन विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनले भने । गत स्थानीय, प्रदेश र संघको निर्वाचनमा भोट माग्ने बेला घरदैलोमा आएका दलका नेताले छिट्टै पुल निर्माण गर्ने आश्वासन दिए पनि त्यसपछि भने फर्केर पनि नआएको स्थानीय बताउँछन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीयको धेरै गुनासो आइरहेको र त्यसपछि आफूले दुई महिना अघिदेखि नै तत्काल पुल निर्माणको बाँकी काम काम पूरा गर्न निर्देशन दिइसकेको बताए पनि अहिलेसम्म गाउँपालिकाले काम गरेको छैन । राजनैतिक दबाबका कारण उपभोक्ता समिति गठन हुन सकेको छैन । ‘समस्याबारे अब आफै गएर बुझ्छु, आवश्यक परे उपभोक्ता समिति निर्माणका लागि सर्वपक्षीय बैठक डाकेर समन्वय गर्छु,’ प्रजिअ अर्यालले भने ।