Logo

निराशामै बित्यो २०८०

कोभिडपछि सुस्त बनेको अर्थतन्त्रमा कुनै सुधार नआई २०८० बित्यो । नेपाली समाजमा शून्य अंकलाई त्यति शुभ मानिँदैन । अधिकांशले शून्य वर्षमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम पनि गर्दैनन् । यो २०८० को वर्ष धार्मिक तथा सांस्कृतिक हिसाबले मात्र होइन, आर्थिक रूपमा पनि शुभ रहेन । अघिल्लो आवमा २ प्रतिशतले पनि अर्थतन्त्रको विस्तार हुन सकेको थिएन । चालु वर्ष त्यसमा सुधार आउने अपेक्षा गरिएको थियो । सरकार आफैंले ६ प्रतिशतले अर्थतन्त्रको विस्तार गर्ने लक्ष्य राखेको थियो । तर, त्यसको आधा हुन पनि मुस्किल पर्ने देखिएको छ ।

गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रमा झिनो सुधार आउने देखिए पनि सर्वसाधारण नागरिकको जीवन भने झनै कष्टकर बन्दै आएको छ । सरकार, व्यवसायी र सर्वसाधारण सबै समस्यामा जेलिएका छन् । उत्पादनदेखि उपभोगसम्मको चक्र खलबलिएका कारण निजी क्षेत्र निराशामा छ । औद्योगिक उत्पादन र बन्द व्यापार सबै खस्किएको छ । यही कारण सर्वसाधारणले रोजगारीका अवसर गुमाएका छन् । अधिकांश सर्वसाधारणलाई दैनिक गुजारा टार्नसमेत धौधौ परेको छ । लगानीका सबै क्षेत्रमा समस्या आएको छ ।

बैंकहरूमा निक्षेप थुप्रिएको छ । तर, कर्जाको माग बढ्न सकेको छैन । यो वर्ष करिब १२ प्रतिशतले निजी क्षेत्रमा जाने लगानी बढाउने लक्ष्य राखेकामा ५ प्रतिशत पुग्न सकेको छैन । बैंकबाट कर्जा लिएर लगानी गर्ने जोखिम निजी क्षेत्रले उठाउन चाहेको छैन । यो वर्ष सेयर र घरजग्गा कारोबार पनि चल्न सकेको छैन । सेयर कारोबारको मापन गर्ने नेप्से परिसूचक २ हजार बिन्दुको वरिपरि घुमेको छ । सेयर लगानीकर्ता बजार बढ्ने माहौलको प्रतीक्षामा छन् । घरजग्गा कारोबार बढ्न नसक्दा मूल्य घट्न सुरु भएको छ ।

दुई वर्षअघि अर्थतन्त्रको बाह्य क्षेत्रमा आएको समस्यालाई यो वर्षले पूरै समाधान गरेको छ । तर, आन्तरिक रूपमा अर्थतन्त्रमा सुधार आउन नसक्दा जताततै निराशा र भय मात्र देखिएको छ । नयाँ वर्षले यसलाई चिर्न सकोस् ।

काठमाडौं उपत्यकामै घरजग्गाको मूल्यमा १५ प्रतिशतसम्मले गिरावट आएको छ । काठमाडौंबाहिर स्थान हेरेर ४० प्रतिशतसम्मले मूल्य घटेको छ । यसको विपरीत सुनको मूल्य भने दैनिकजसो बढ्दै गएको छ । २०८० को अन्तिम दिन सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँसम्म पुगेको छ । गत वर्ष सरकार पनि समस्याबाट बाहिर निस्कन सकेको छैन । मुख्य रूपमा राजस्व आम्दानी गुमेका कारण सरकार वित्त व्यवस्थापनमा निकै समस्यामा फसेको छ ।

वैदेशिक अनुदान र ऋण दुवै लक्ष्य गरेअनुसार आएका छैनन् । सरकारको भुक्तानी दायित्व खर्बौं रुपैयाँबराबर पुगेको छ । पूर्वाधार निर्माणमा भएको खर्चको भुक्तानी दिन पनि सरकारले सकेको छैन । राजस्वले चालु खर्च धान्न सकेको छैन । त्यही कारण सरकारले लिएको आन्तरिक र बाह्य ऋणको साँवा र ब्याज भुक्तानी गर्न अर्को ऋण उठाउनुपरेको छ । काम गर्न सक्ने युवाशक्ति दैनिक २ हजार हाराहारीमा विदेश गइरहेका छन् । अध्ययन र काम गर्ने निहुँमा देश छोड्ने विद्यार्थीको संख्या पनि सानो छैन ।

अर्थतन्त्रको पाटोबाट २०८० सबै निराशामा मात्र बितेको छैन, कोभिडपछि पर्यटक आगमनमा सुधार पनि आएको छ । झन्डै कोभिडअघिको बराबरीमा पर्यटक आउन सुरु भएको देखिएको छ । सन् २०२३ मा १० लाखभन्दा केही बढी पर्यटक आएका थिए भने २०२४ का तीन महिनामा प्रतिमहिना १ लाखभन्दा धेरैको संख्यामा पर्यटक आएका छन् । यो संख्या कोभिडअघिको भन्दा पनि सुधारोन्मुख हो । यस्तै रेमिटेन्स आयमा पनि गत वर्ष उच्चदरले सुधार आएको छ । यही बेला आयात पनि घटेको छ ।

यी दुवैका कारण विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै उच्च भएको छ । सञ्चिति बढ्दा र आयातमा कमी आउँदा चालु खाता र शोधनान्तर स्थिति पनि बचतमा छन् । सेवा क्षेत्रबाट प्राप्त हुने आम्दानी पनि बढ्दो क्रममा छ । समग्रमा २०८० लाई अर्थतन्त्रको आँखाबाट हेर्दा न्यानो वर्ष हुन सकेन । दुई वर्षअघि अर्थतन्त्रको बाह्य क्षेत्रमा आएको समस्यालाई यो वर्षले पूरै समाधान गरेको छ । तर, आन्तरिक रूपमा अर्थतन्त्रमा सुधार आउन नसक्दा जताततै निराशा र भय मात्र देखिएको छ । नयाँ वर्षले यसलाई चिर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्