Logo

लगानी सम्मेलन

सोकेसमा १५० आयोजना, २६४ को सहभागिता हुँदै

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ मा गर्ने भनेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकार र निजी क्षेत्रको सहयोजनामा हुन लागेको यो तेस्रो लगानी सम्मेलन हो ।

सरकारले यसपालिको सम्मेलनको नाम ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ दिएको छ । सम्मेलन सफल र प्रभावकारी बनाउने काम अन्तिम चरणमा पुगेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । उनका अनुसार बोर्डले सम्मेलनमा सोकेस गर्ने परियोजना छनोट गर्ने काम अन्तिम चरणमा पुर्याएको छ ।

लगानी आकर्षित गर्न आवश्यक ठानिएका नीतिगत तथा कानुनी स्पष्टता पार्ने, ‘सोकेस’ का आयोजनाको पूर्वतयारी, प्रचारप्रसार तथा अतिथिलाई निम्तो गर्ने लगायतका काम भइरहेका छन् । उनका अनुसार १ हजार २ सयभन्दा बढी अथितिलाई निम्तो पठाएकामा २ सयभन्दा बढी सहभागी हुने टुंगो लागेको छ । उनले नेपालमा लगानीको वातावरण छ भनेर विदेशी व्यवसायीलाई विश्वास दिलाउन साना तथा मझौला परियोजनाको सफलताको कथासमेत सम्मेलन प्रस्तुत गरिने जानकारी दिए ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार ‘सोकेस’ मा लैजाने गरी अहिलेसम्म १ सय ५० वटा आयोजना पहिचान गरेका छन् । अन्तिम दिनसम्म संख्या अझै बढ्न सक्नेछ । यस्तै, सम्मेलनमा सहभागी हुन १ सय २७ वटा देशलाई बोर्डले निमन्त्रणा गरेकोमा ३१ देशका प्रतिनिधि सहभागी हुने टुंगो भएको छ ।

प्रवक्ता उपाध्यायका अनुसार सम्मेलनमा विभिन्न क्षेत्रका २७ स्टल हुनेछन् । यी स्टलबाट लगानीकर्तालाई परियोजनाका बारेमा विस्तृत जानकारी गराइनेछ । २७ स्टलमध्ये हरेक प्रदेशका १-१ वटा र एउटा लगानी बोर्डको रहनेछ । यस्तै निजी क्षेत्रका ४, सम्बन्धित मन्त्रालय र अन्य क्षेत्रका गरी कुल २७ वटा स्टल राखिने प्रवक्ता उपाध्यायले जानकारी दिए ।

सरकारी निकायबाट राखेको स्टल निःशुल्क हुनेछ भने निजीले स्टलको शुल्क करिब ४ लाख रुपैयाँ तिर्नु पर्नेछ । दुई दिनसम्म चल्ने सम्मेलनमा १० वटा सत्र र करिब ५०/६० वक्ता हुनेछन् । उनका अनुसार पहिलो दिनमा २ वटा प्यानलिस्ट सेसन र दोस्रो दिन ८ वटा हुनेछन् ।

प्रवक्ता उपाध्यायका अनुसार सोकेसका १ सय ५० वटा परियोजनामध्ये तीनवटाको लगानी सम्मेलनका क्रममा परियोजना विकास सम्झौता (पिडिए) गर्ने तयारी छ । चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क, अपर मस्र्याङ्दी–दोस्रो जलविद्युत आयोजना, कोहलपुर र वाणगंगा सोलार आयोजनाको पिडिए हुँदैछ । यस्तै, डाबर नेपालसँग परियोजना लगानी सम्झौता (पीआईए) गरिने छ ।

प्रतिक्रिया दिनुहोस्