Logo

बैंकको नाफामा संकुचन

काठमाडौं– अर्थतन्त्र सुस्तताको असर बैंकहरूको वित्तीय स्वास्थ्यमा देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा अधिकांश वाणिज्य बैंकको नाफामा संकुचन आएको हो ।

अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कर्जा असुलीमा समस्या पर्दा बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि ‘प्रोभिजनिङ’ बढाउनुपर्दा नाफा घटेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको फागुनसम्ममा वाणिज्य बैंकहरूले ४२ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिमा उनीहरूको नाफा ४८ अर्ब ८३ करोड रुपैयाँ थियो ।

यो अवधिमा वाणिज्य बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि ४८ अर्ब ५५ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । कर्जा असुलीमा समस्या आउँदा यसको सम्भावित जोखिमबापत गरिएको प्रोभिजनिङ बढ्दा नाफामा संकुचन आएको हो । गत आवको सोही अवधिमा कर्जा नोक्सानीका लागि ३० अर्ब ९९ करोड रुपैयाँ प्रोभिजनिङ गरेका थिए ।

चालु आवको आठ महिनासम्ममा वाणिज्य बैंकहरूको नाफा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मर्जरमा गएका बैंकहरूको पनि यस अवधिमा नाफा बढ्न सकेको छैन । गत आवमा सिभिल बैंकलाई मर्जर गरेको हिमालयन बैंकको नाफा बढेको छ । गत आवमै मर्जर भएर एक भएका लक्ष्मी सनराइज बैंकको नाफा भने घटेको छ । प्राइम कमर्सियल बैंक, एभरेष्ट, सिद्धार्थ र कृषि विकास बैंकको नाफा बढेको छ । प्राइमको नाफा २०.७४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड पुगेको छ । एभरेष्ट बैंकको नाफा २.६३ प्रतिशतले बढेर २ अर्ब २९ करोड पुगेको छ ।

गत वर्ष फागुनसम्म ४१ करोड रुपैयाँमात्रै नाफा रहेको कृषि विकास बैंकको नाफा चालु आवको सोही अवधिमा बढेर १ अर्ब ९७ करोड पुगेको छ । त्यस्तै सिद्धार्थ बैंकको नाफा ९.१२ प्रतिशतले बढेर १ अर्ब ७० करोड पुगेको छ । नबिल, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा घटेको छ ।

चालु आवको आठ महिनासम्ममा नबिल बैंकले ४ अर्ब ७२ करोड नाफा कमाएको छ, जुन गत आव सोही अवधिको तुलनामा ११.३० प्रतिशत कम हो । ग्लोबल आइएमई बैंकको नाफा २१.४८ प्रतिशतले घटेर ३ अर्ब ४३ करोड रुपैयाँमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकको १४.५८ प्रतिशतले घटेर २ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । यस्तै, नेपाल इन्भेण्टमेण्ट मेगा बैंकको नाफा १९.६७ प्रतिशतले घटेर २ अर्ब ८० करोड भएको छ ।

एनआईसी एशिया बैंकको नाफा ३७.३५ प्रतिशतले घटेर २ अर्ब ५४ करोड रुपैयाँमा झरेको छ । यस्तै नेपाल बंैक र नेपाल एसबीआई बैंकको नाफामा उच्च गिरावट देखिएको छ । नेपाल बैंकको नाफा ३९ प्रतिशत र एसबीआई बैंकको नाफा ३८.६७ प्रतिशतले घटेर सबैभन्दा कम १ अर्बमा सीमित भएको छ ।

चालु आवको साउनदेखि फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ३८ करोड रुपैयाँमात्रै नाफा कमाएका छन् । गत आवको सोही अवधिमा ५३ अर्ब ६० करोड नाफा कमाएका बैंक तथा वित्तीय संस्थाको चालु आवको सोही अवधिमा १५.५७ प्रतिशतले नाफा घटेको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले सम्भावित कर्जा नोक्सानीका लागि ५५ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । गत आवको सोही अवधिमा प्रोभिजन रकम ३६ अर्ब ५५ करोड थियो ।

विकास बैंक र वित्त संस्था पनि प्रभावित
चालु आवको आठ महिनासम्ममा विकास बैंक र वित्तीय संस्थाको नाफा पनि संकुचित भएको छ । विकास बैंकहरूको नाफा आठ महिनामा ३ अर्ब ५१ करोड पुगेको छ । गत आवमा ३ अर्ब ७८ करोड नाफा आर्जन गरेकोमा चालु आवमा नाफा घटेको हो ।
सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन बढ्दै जाँदा विकास बैंकहरूको पनि नाफा घटेको हो । गत आवका आठ महिनामा विकास बैंकहरूले ४ अर्ब ५३ करोड प्रोभिजन गरेकोमा चालु आवको सोही अवधिमा ६ अर्ब ३२ करोड प्रोभिजन गरेका छन् ।

यस्तै वित्त कम्पनी (फाइनान्स) ले चालु आवका आठ महिनामा ५६ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । गत आवमा सम्भावित कर्जा नोक्सानीका लागि १ अर्ब १ करोड प्रोभिजन गरेकोमा चालु आवमा १ अर्ब प्रोभिजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्