होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न

काठमाडौं– होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न भएको छ । आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवास्तर उत्कृष्ट बनाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । उक्त कन्टेस्टमा एसटीसी वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे ।
त्यसैगरी ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एसटीसी वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरे । प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ पाए भने सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निदेशनअनुसार टेक्निसियनहरु होण्डा स्टयाण्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्यक क्षेत्र बाट २/२ जना छनोट गरी राष्ट्रियस्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो ।
स्याकार ट्रेडिङ कम्पनीले विगत केही वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनीको भनाइ छ ।