Logo

पर्यटन क्षेत्रको बजेट बढाउन माग

काठमाडौं– पर्यटनसँग सम्बन्धित संघ संस्थाले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र विस्तारमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन संघ संस्थाहरुको तर्फबाट होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विभिन्न सुझावसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

उनले नेपालको वर्तमान पर्यटन क्षेत्रले ३५ लाख पर्यटक लगायतका सेवाग्राहीलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास भइसके पनि वर्तमान पर्यटन आगमन क्षमताको एक तिहाईको हाराहारीमा मात्र रहेकाले समग्र क्षेत्रले सञ्चालन खर्च पनि जुटाउन नसकेको बताए ।

ज्ञापनपत्रमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि बजेटले मौजुदा वस्तुस्थितिको सुक्ष्म समीक्षा गर्न सुझाव दिइएको छ । त्यसैगरी यो क्षेत्रको संस्थागत सुदृढीकरणका लागि उपयुक्त कार्यनीति तथा कार्यक्रम आवश्यक रहेको भन्दै अर्थमन्त्री पुनको ध्यानाकर्षण गराइएको हो ।

आगामी बजेटले करको दर भन्दा पनि दायरा बढउनु पर्ने बताउँदै अध्यक्ष शाहले होटलमा लागेको विलासिता कर हटाइनु पर्नेमा जोड दिए । यसैगरी नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले हवाई यात्रामा लागेको कर व्यवहारिक नभएको र हवाई टिकट जारी गर्ने कार्य नेपाल भन्दा बाहिर हुन थालेको गम्भीर हुन माग गरे ।

अतिरिक्त होटल तथा पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता तथा सेवा सुविधा उपलब्ध गराउन पनि व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । छलफलमा अर्थमन्त्री पुनले पर्यटन व्यवसायीका माग अध्ययन गरी यसतर्फ सकारात्मक कदम चालिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्