Logo

नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं– नेपाल टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ’स्प्रिङ अफर २०८०’ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा सार्वजनिक गरेको हो । नयाँ अफरअन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज सञ्चालनमा ल्याएको जनाएको छ ।

यस अनुसार १८ रूपैयाँमा एक दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने ३५ रूपैयाँमा दुई घण्टासम्म प्रयोग गर्न सकिने दुई घण्टा अनलिमिटेड डेटा प्याक उपलब्ध छ । यीबाहेक विभिन्न दरका भ्वाइस, डेटा र एसएमएस प्याकसमेत उपलब्ध छन् ।

नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । साथै, ३५ दिनसम्म जुनसुकै समय र जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ रूपैयाँमा उपलब्ध हुनेछ । नयाँ डेटा प्याकेज अन्तर्गत २४ रूपैयामा एक घण्टा भ्वाइस र डेटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डेटा चलाउन समेत सकिन्छ ।

त्यसैगरी २० रूपैयाँमा एक दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रूपैयाँमा तीन दिनसम्म चलाउन सकिने तथा १०९ रूपैयाँमा सात दिनसम्म चलाउन सकिने तीन जिबी डेटा प्याक उपलब्ध हुनेछ । यीबाहेक ३९९ रूपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा प्याक उपलब्ध हुनेछ । यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याक परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रूपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ ।

जिएसएम २–जी वा ३–जी सिम प्रयोगकर्तालाई ४–जी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको हो । यसरी २–जी वा ३–जी प्रयोगकर्ताले आफ्नो सिमलाई ४–जीमा एक्टिभेट गरेमा ३ जिबी डेटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । स्प्रिङ अफर चैत ३० गतेदेखि लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्