Logo

नयाँ वर्षमा सेयर बजारले मार्ला त फड्को ? यस्तो छ बजारबारे जानकारको अपेक्षा

काठमाडौं– नियामकीय कडाई, लगानीकर्ताको मनोबलमा आएको गिरावट जस्ता कुराले वर्ष २०८० सेयर बजारका लागि सन्तोषजनक रहेन । बजार सुधारको विभिन्न प्रयास भएपनि उल्लेख्य नहुँदा लगानीकर्ता मारमा परि नै रहे । यो वर्ष बजार ९४.०२ अंकले मात्रै बढ्यो ।

२०८० सालको वैशाख ३ गते पहिलो कारोबार १९३१.६८ बाट सुरु भएको बजार चैत २८ गते २०२५.७० बिन्दुमा बन्द भयो । वर्षभरी नै बजार एक हजार ८ सय र दुई हजार विन्दुको वरिपरी नै घुमिरह्यो । २०८० साल वैशाख ३ गते सेयर बजार १९३१.६८ बिन्दुमा रहेको थियो । यो वर्ष बजारको अधिकतम बिन्दु २२२७.१६ बिन्दु रह्यो भने सबैभन्दा कम १८१८.३१ बिन्दुमा रह्यो । राष्ट्र बैंकले बजारमैत्री नीति ल्याउने लगानीकर्ताको अपेक्षा अनुसार मौद्रिक नीति आउन सकेन ।

त्यसपछि बजार क्रमशः घट्दै गएको देखिन्छ । त्यसपछि अर्थमन्त्री परिवर्तन हुँदा बढ्ने गरेको बजार केही समयपछि फेरि घट्ने क्रममै रहेको देखिन्छ । समग्रमा हेर्ने हो भने वर्ष २०८० सेयर बजारमैत्री बन्न सकेन । बजार सुधारका लागि विभिन्न प्रयासहरू भएका छन् । नयाँ स्टक एक्स्चेञ्जलाई लाइसेन्स दिने प्रयास, नयाँ ब्रोकर कम्पनी आउनु लगायतले पनि सुधारका प्रयास भएको देखाउँछ ।

तर भएका सुधारले लगानीकर्तालाई उचित सम्बोधन हुन सकेन । अब नयाँ वर्ष २०८१ मा सेयर बजार कस्तो बन्ला ? लगानीकर्ताहरू नियामकीय नीतिलाई लचक बनाए सेयर बजारको भविष्य उज्वल रहेको बताउँदै आएका छन् । बजारका जानकारहरू आगामी दिनमा सेयर बजारलाई अगाडि बढाउन कतिपय नीतिमा लचकता अपनाउनुपर्ने जोड दिँदै आएका छन् ।

कतिपयले भने बजार अगाडि बढाउन समग्र लगानीकर्ताको मनोबल बढाउनेतर्फ सरकारले काम गर्नुपर्ने बताउँदै आएका छन् । इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष तुलसीराम ढकाल २०८० सालमा सेयर बजारका लागि दुःखदायी रहेको विश्लेषण गर्छन् । ‘केही सूचक बढेको त देखिन्छ तर त्यो वृद्धिले कमाउन सकिएन’ उनले भने, ‘विभिन्न समयमा कम्पनीको सेयर थपिँदा सूचक बढेको मात्रै देखिएको हो । आम लगानीकर्ताका लागि २०८० राम्रो वर्ष मान्न सकिँदैन ।’

उनले बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको, ब्याजदर घटिरहेको, अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारको कार्ययोजना लिइसकेकाले आगामी दिनमा सेयर बजार राम्रो हुने अपेक्षा अपेक्षा गरे । अध्यक्ष ढकालले सेयर धितो कर्जा सीमा हटाउनुपर्ने र कर्जाको जोखिमभार घटाउनेतर्फ सबै पक्ष लागेमा सेयर बजारमा सुधार आउने बताए । अहिले लगानीकर्तामा मनोबल बढाउने, आत्मविश्वास बढाउनेतर्फ राज्यले काम गर्नुपर्नेमा उनको जोड छ । उनले सेयर बजार सुधार हुँदा राज्यलाई राजस्वमा पनि ठूलो योगदान हुने भन्दै यसबारे राज्यले ध्यान दिन ढिला भइसकेको बताए ।

यस्तै नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल २०८० सालमा अर्थमन्त्रीले सेयर बजार सुधारको उधारो सम्झौता गरेकाले २०८१ मा त्यो काम पूरा हुन्छ भन्ने अपेक्षा गरिएको बताउँछिन् । उनले भनिन्, ‘अर्थमन्त्री सेयरबजार प्रति सकारात्मक देखिनुभएको छ, त्यसकारण नीतिहरू बजारमैत्री नै आउँछन् भन्ने अपेक्षा छ । त्यसो हो भने सेयर बजार राम्रै हुन्छ ।’ पोखरेलले अहिले सेयर बजार सकारात्मक हुनका लागि राम्रो अवसर रहेपनि नियामकीय कडाइले अगाडि बढ्न नसकेको बताइन् । उनले मौद्रिक नीतिमा समेत सेयर बजारमैत्री नीति आएमा २०८१ मा सेयर बजारमा उल्लेख्य वृद्धि हुने बताइन् ।

यस्तै नेपाल स्टक ब्रोकर एसोसियसनका अध्यक्ष धर्मराज सापकोटाले २०८० मा सेयर बजारप्रति धेरै नै अपेक्षा गरिएपनि पूरा हुन नसकेको सुनाए । उनले भने, ‘सेयर बजारलाई सहयोग गर्ने नीति आउन सकेन । ०८१ सालमा सेयर बजारमैत्री नीति आउँछ भन्ने अपेक्षा छ ।’ उनले अर्थतन्त्र सुधार हुँदै जाँदा पुँजी बजार पनि विस्तारै सुधार हुँदै जाने बताए । ‘अहिले अर्थतन्त्र पनि क्रमशः राम्रो हुँदैछ त्यसकारण सेयर बजार पनि सुधार हुन्छ भन्ने अपेक्षा छ ।’ पुँजीबजारमा हुने कर्जा लगानी जोखिमयुक्त होइन भन्ने बुझेर नीति आउनुपर्नेमा सापकोटाले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्