Logo

पोखरामा एकै रातमा डेढ लाख पर्यटक

पोखरा– नयाँ वर्षमा पोखरामा एकै रातमा डेढ लाख पर्यटक भित्रिएका छन् । पोखरामा आयोजना भएको १९ औं संस्करणको फेवा नव वर्ष महोत्सवको अवसरमा डेढ लाख बढी पर्यटक भित्रिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

गत चैत २९ गतेदेखि सुरु भएको उक्त महोत्सव आफूहरूले अपेक्षा गरे भन्दा बढी महोत्सव सफल भएको दाबी गर्दै सुवेदीले एक लाख पर्यटकसहित २ लाख दर्शक महोत्सवमा सहभागी भएको बताए । पोखराको ड्यामसाइडदेखि वसुन्धरा पार्क हुँदै गौरीघाटलगायतको क्षेत्रमा करिब ३० मिनेटसम्म आतिसबाजी हुँदा उक्त महोत्सवमा सहभागी पर्यटकले मनोरन्जन लिएको पनि उनले बताए ।

पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसियाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघअन्तर्गतका होटलहरुले पाहुनालाई २० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । यो वर्ष अघिल्ला वर्षको तुलनामा बढी पर्यटक एवं दर्शक सहभागी भएका महोत्सव मुल संयोजक एवं अध्यक्ष सुवेदीले बताए । शुक्रबार पोखराका करिब ८५ प्रतिशत होटलको अकुपेन्सि रहेको संघले दाबी गरेको छ ।

उक्त संख्या शनिबार ७० प्रतिशत जति हुने उनले बताए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्म करिब साढे ३ किलोमिटर क्षेत्रको सडकमा महोत्सव आयोजना गरेको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यसपटकको नयाँ वर्षमा पोखरामै गएर मनाउनु पर्छ भन्ने धेरै पर्यटकलाई सकारात्मक छाप परेको कारण अघिल्लो वर्षको तुलनामा धेरै पर्यटक पोखरामा भित्रिएको दाबी गरे ।

सडक संजालको कठिन यात्राका बाबजुद पनि पोखरामा नयाँ वर्ष मनाउन काठमाडौंसहित देशका धेरै ठाँउबाट पर्यटक आएको व्यववसायीहरुले बताएका छन् । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा भएको महोत्सवमा गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होटल संघ नेपालले सहयोग गरेको महासचिव राजेन्द्र ढकालले बताए । नेपाली नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक निकै उत्साहित हुँदै पोखरामै नयाँ वर्ष मनाएको संघका कोषाध्यक्ष नेत्र पौडेलले बताए ।

नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड १९ बाट प्रभावित भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्देश्यले आयोजना हुने महोत्सवमा सांस्कृतिक कार्यक्रमलगायतका सुविधा रहेको थियो । पोखरा र वरपरका एक हजार दुई सय होटलमा ४० हजार बेड, होटल संघअन्तर्गत ४४७ होटल, लेकसाइड र ड्यामसाइड क्षेत्रमा ७०० होटल रहेको अध्यक्ष सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्