Logo

पर्यटकका लागि नयाँ गन्तव्य भच्चेक, बारपाक र माछिखोला ट्रेक

तस्बिरः कारोबार

काठमाडौं– गोरखा जिल्ला पर्यटकका लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्किट, विभिन्न जातिय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमै चिनाएको छ । पछिल्लो समय सडक यातायातले जोडिएका गोरखाका विभिन्न गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

यसै सन्दर्भमा पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा भच्चेक, बारपाक माछीखोला ट्रेक विकास हुँदै गएको छ । अजिरकोट गाउँपालिका भच्चेकबाट सुरु भएर धार्चे गाउँपालिकाको माछिखोलामा पुगेर अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्छ । सो ट्रेकमा भच्चेक बजार, मादले गाउँ, गोगनपानी, हरेन घडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाउँ, लप्सीबोट गाउँहरु पर्छन् ।

२०७२ सालको गोरखा भूकम्पले क्षति पुगेका यी गाउँको अवलोकन गर्दै, स्थानीय उत्पादनको स्वाद लिँदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न समेत सकिन्छ । राजधानी काठमाडौंको नयाँबसपार्कबाट बाहिन सात बजे भच्चेकको लागि बस छुट्ट सो बसले ३ बजे भच्चेक बजार पुर्याउछ । एक दिन भच्चेक बजारको विभिन्न स्थानहरुको घुमफिर गरि भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ । पहिलो दिन भच्चेक, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुँदै बारपाकमा बास बस्ने गरी जान सकिन्छ ।

बारपाक यातायातको सुविधाले जोडिएकाले बस तथा विभिन्न यातायातको साधानको प्रयोग गरी बारपाक पुग्न सकिन्छ । करिव १५ सय घरधुरी रहेको बारपाक २०७२ सालको गोरखा भूकम्पको केन्द्रविन्दु समेत हो । आन्तरिक तथा बाह्य पर्यटकको निकै चहलपहल देखिने बारपाकले भने भूकम्पपछि आफ्नो मौलिकता गुमाएको छ । परम्परागत घरहरु भत्किएपछि यहाँ आधुनिक र कंक्रिटका घर बनेका छन् । एक दिनको बारपाकको बसाइ पछि करिव साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ धार्चेको लाप्राक गाउँ ।

लाप्राक पुरानो गाउँ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँ बस्तीले पर्यटकलाई स्वागत गर्छ । ०७२ को भूकम्प र पहिरोको जोखिमका कारण गैरआवासीय नेपालीले बनाइदिएको सो नयाँबस्ती पर्यटकको अर्को आकर्षणको केन्द्र हो । लाप्राक पुरानो गाउँ पहिरोको जोखिमका बिच पनि त्यहाँका मानिस खेतीबारीका लागि भने नयाँबस्तीमा खासै बस्ने गर्दैनन् । आलु, जौ, कोदो नै यहाँको प्रमुख उत्पादन हो । परम्परागत घर तथा गुरुङ संस्कार र संस्कृति अनुसारको अतिथि स्वागत यहाँको विशेषता हो । खेतीबारी, घाँसदाउरामै रमाउने यहाँका मानिसको बानी हो ।

लाप्राकमा एक दिन बिताएपछि अर्को दिनको यात्रा सुरु हुन्छ गुम्दाको लागि । लाप्राकबाट करिव दुई घण्टाको दुरीमा रहेको गुम्दा गाउँ पनि सडक सञ्जालले जोडिएको छ । पँहेलो जौ बारी, र जौ भित्र्याउने तयारीाम रहेका स्थानीय बारीमा काम गरिरहेको देखिन्छ । यहाँ विभिन्न समयमा विभिन्न मेला लाग्ने गर्दछ, आलु मेला, मकै विवाह यहाँका सांस्कृतिक मेलाहरु मध्येमा पर्दछ । गुम्दामा एक दिन बिताएपछि यामगाउँ, लप्सीबोट हुँदै माछिखोला पुग्न सकिन्छ । माछिखोला बूढीगण्डकी र रेचे खोला (हाइड्रो खोला) को दोभानमा अवस्थित छ, जुन प्रख्यात मनासलु सर्किटको प्रस्थान विन्दुसमेत हो ।

प्रतिक्रिया दिनुहोस्