Logo

गौरीगञ्जको आठमौजा छोटी भन्सार पुनः सञ्चालन गरिने

फाइल तस्बिर ।

बिर्तामोड– झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालन गरिने भएको छ । सरकारले झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय नाकाको रूपमा विस्तार गर्ने निर्णय गरे पनि विगत चार वर्षदेखि बन्द अवस्थामा रहेको आठमौजा छोटी भन्सार कार्यालयलाई सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।

उनले आठमौजा छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको बताए । आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकाको रूपमा स्थापित गर्न नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेकाले आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आउने उनले बताए ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले वैशाख महिनाभित्रै आवश्यक कर्मचारी खटाएर आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउने बताउँदै सबैको साथ र सहयोग भएमा राजस्व संकलनमा यस नाकाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको जनाए । स्थानीय सरकार, सरोकारवाला, संघसंस्था र स्थानीयले चासो लिए चाँडोभन्दा चाँडो नाका स्थापना हुने उनको भनाइ छ ।

आठमौजा छोटी भन्सार कार्यालयको नयाँ भवन बने पनि भन्सार कर्मचारी नबसेपछि प्रयोगविहीन बन्दै विगत चार वर्ष अघिदेखि बन्द थियो । आफूहरूको लामो समयको पहल र प्रयासपछि आठमौजा छोटी भन्सार सुचारु हुन लागेको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताइन् । नेपाल सरकारले मन्त्रीस्तरीय बैठकबाट आठमौजा छोटी भन्सार कार्यालय नाकाको रूपमा विस्तार गर्ने निर्णय गरे तापनि अहिलेसम्म यसको काम अघि बढ्न नसकेकाले अब भने केही आशा पलाएको उनको भनाइ छ ।

चार वर्षदेखि आठमौजा छोटी भन्सार कार्यालय बन्द हुँदा स्थानीयले सास्ती खेप्दै आउनुपरेको झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतोले बताए । गौरीगञ्जबाट नजिकै भारतको फत्तेपुर बजार रहेको र त्यहाँ दैनिक रूपमा सयौँ नेपाली किनमेलका लागि जाने गरेको उनले बताए । व्यापारीले समेत आठमौजा छोटी भन्सार कार्यालय नाका प्रयोग गरेर दैनिक उपभोग्य सामग्रीको तेल, लसुन, चिनीलगायतका खाद्यवस्तु र कपडालगायत अवैध रूपमा भित्र्याउने गरेकाले राजस्व खेर गइरहेकाले यहाँ आठमौजा छोटी भन्सार कार्यालय स्थापना गर्न जरुरी भएको उनको भनाइ छ ।

नेपाल सरकारले अवैध सामग्री नेपाल–भारत सीमानामा आयात निर्यात नियन्त्रण गरी राजस्व संकलन गर्ने उद्देश्यले आठमौजा छोटी भन्सार कार्यालय स्थापना गरे पनि अहिले त्यो बन्द हुँदा राजस्व संकलन प्रभावित भएको छ । भारतसँगै सीमा जोडिएको गौरीगञ्ज गाउँपालिकाको साथै आसपासका क्षेत्रमा रहेका बजार क्षेत्रको व्यापार व्यवसाय बढाउन छोटी भन्सार कार्यालयको स्तरोन्नति गर्न आवश्यक भएको उनको भनाइ छ ।

आठमौजा छोटी भन्सार कार्यालयस्थापना भए गौरीगञ्जको मुहार फेरिने र आर्थिक गतिविधि बढेर राजस्व पनि संकलन हुने उनी बताउँछन् । आठमौजा छोटी भन्सार कार्यालय स्थापना भए भारतबाट नेपालतर्फ भित्रिने सामानको भन्सार काट्दा व्यापार व्यवसाय बढ्नुका साथै राजस्वसमेत सोचेभन्दा बढी संकलन हुने उनको भनाइ छ । गौरीगञ्ज क्षेत्रमा भारतीय नम्बर प्लेटका दुई चक्के र चार चक्के सवारीका साधन प्रशस्त मात्रामा आउने गरे पनि पटके पुर्जी काट्न इजाजत नहुँदा राजस्वसमेत घटेको गौरीगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष महतो बताउँछन् ।

आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किँदै गएको बताउँदै उनले भन्सार नहुँदा नाकाबाट अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको जनाए । गौरीगञ्ज क्षेत्रमा भारतसँग सीमाना जोडिएका दुईवटा नाका रहेकाले दुवै नाकामा भन्सार कार्यालय राख्न आवश्यक भएको र दुवै नाकामा भन्सार कार्यालय राखेमा कर छलीको सम्भावना घट्नुको साथै राजस्व वृद्धि हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्